२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

साल्ट ट्रेडिङले उपलब्ध गराउन सकेन चिनी



असोज १५, सुर्खेत । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् ।

साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् ।

सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रू. ७९ मा उपभोक्तालाई विक्री गर्दथ्यो । बजार मूल्य प्रतिकेजी रू. १०० छ । राष्ट्रिय उपभोक्ता मञ्ज सुर्खेतका जिल्ला प्रतिनिधि कुमारी भुसालले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गरिन् ।

‘सरकारी गोदाममा चिनी नभएको मौका छोपेर व्यवसायीले आफूखुसी मूल्य बढाएका छन्’, उनले भनिन्, ‘दशैँ नजिकिँदैछ, ‘विपन्न उपभोक्ताले बजारको महँगो चिनी किनेर चाडपर्व मनाउन सक्ने अवस्था छैन, यस्तो अवस्थामा सरकारी कम्पनीले छिटो ढुवानीको प्रक्रिया अघि बढाउनुपथ्र्यो ।’ प्रभावकारी बजार अनुगमन नहुँदा व्यवसायीले खाद्यवस्तुको मूल्य मनपरि बढाएको उनको भनाइ छ ।

लिमिटेडका निमित्त कार्यालय प्रमुख पारसनाथप्रसाद चौधरीले चिनी ढुवानीका लागि अर्थ मन्त्रालयले खरीद स्वीकृति नदिँदा भारतबाट चिनी आयात हुन नसकेको जानकारी दिए । उनका अनुसार कार्यालयले नुन प्रतिकेजी रू. १८ मा विक्री गर्ने गरेको छ ।

अघिल्ला वर्षहरुमा दशैँ–तिहारमा सहुलियतमा नुन र चिनी विक्री गर्दै आएको कार्यालयले यसपटक चिनीको ढुवानी नभएको र गोदाममा पनि मौज्दात नभएको जानकारी दिएको छ । यही असोज ४ गतेदेखि कार्यालयले आफ्नै गोदामबाट नुन विक्रीवितरण गर्दै आएको छ । गोदाममा झण्डै तीन हजार क्विन्टल नुन मौज्दात छ ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रबार
Translate »