होटल तथा रेष्टुरेन्टको वर्गीकरण शुरु

स्काई न्यूज /असोज १६, सुर्खेत । सुर्खेतका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा जिल्ला सदरमुकाम वीरेन्द्रनगरका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्टिकर टाँस्ने कार्य शुरु गरेको हो । जिल्लामा रहेका ठूला, साना होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाईएको छ ।
खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको छ । ९० अंकभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अंक ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट ‘घ’ वर्गमा समावेश हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए । होटल तथा रेष्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाई, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषाक्त भएका खानेकुराको व्यवस्थापनलगायतका ५० वटा मापदण्डमा होटलको मूल्यांकन गरिएको छ ।
अभियानको पहिलो दिन सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा चार वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरिएको छ । प्रजिअ रिजालले होटल नमस्ते नेपालद्वारा सञ्चालित जियाना रेष्टुरेन्टमा खाद्य स्वच्छता मूल्यांकन सूचकांकका आधारमा हरियो लोगो (स्ट्रिकर) टाँसेर अभियानको शुभारम्भ गरेका हुन् । उनले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई अझैपनि कोरोना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिए । अझैपनि केही सुधार गर्नुपर्ने सुझाव दिँदै होटल भ्याली भ्यूले हरियो लोगोसहित उत्तम स्थान पाएको डिभिजन प्रमुख थापाले बताए । ‘शनिबार डीएफसी होटलले सन्तोषजनक (मध्यम) स्थान, होटल नाम्लोले सामान्य स्थान पाएर पहेंलो लोगो पाएको छ भने होटल बुलबुले भ्यूले एक स्थान घटुवा भएर पहेंलो लोगो पाएको छ,’ उनले भने, ‘होटल अशोका, होटल नमूना खाद्य स्वच्छताको न्यूनतम् मापदण्ड समेत पालना नगरेको पाईएपछि उनीहरु स्तरीकरण भित्र नै पर्न सकेनन् ।’ उनले स्तरीकरण भित्र पर्न नसकेका होटल तथा रेन्टुरेन्टले खाद्य स्वच्छतामा धेरै सुधार गर्नुपर्ने देखिएको जनाए ।
के हो होटल स्तरीकरण ?
होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरण गर्ने गर्दछ । कार्यालयले पहिलो चरणमा वीरेन्द्रनगरमा सञ्चालित होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरि स्टिकर टाँस्ने अभियान शुरु गरेको हो । होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणाली लगायतलाई मूल्याङ्कनको आधार बनाइको छ । वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइन्छ ।

अति उत्तम श्रेणीको होटल–रेष्टुरेन्टले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउने गरेका छन् । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ । त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक) को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ ।
यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ । होटलको दर्ता प्रक्रिया, सरसफाई, होटल र बाटोको दुरी, कामगर्ने कुक, वेटरको तालिम तथा सरसफाई जस्ता विषयहरु समेत स्तरीकरणमा समावेश गरिएका छन् ।
अधिकांस भान्सा फोहर
तीव्र गतिमा विकास भईरहेको सुर्खेतमा रहेका अधिकांश होटलमा सरसफाइको कमी देखिएको छ । होटलहरुको विविध अवस्थाका बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ र होटल अर्गनाईजेशनले गरेको अनुगमनका क्रममा अधिकांश होटलहरुका भान्सा अत्याधिक मात्रामा फोहर रहेको पाईएको हो ।
त्यस्तै वीरेन्द्रनगरका केही केही होटलहरु सञ्चालकको नाममा समेत नभएको अनुगमनका क्रममा भेटिएका छन् । त्यस्ता होटल सञ्चालकलाई आफ्नो नाममा होटल दर्ता गर्न निर्देशन दिईएको छ । सुर्खेतमा होटल तथा रेन्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता अनुगमन जिल्लाभरी नै सञ्चालन हुने डिभिजन प्रमुख थापाले बताए । उनले खाद्य स्वच्छताबारे सम्वन्धित पक्षलाई जागरुक गराउन, उपभोक्ता हितको रक्षा गर्नका लागि सरकारी तवरबाटै अभियान शुरु गरिएको जनाए ।