विक्री वितरणमा रोक लगाईएको चामलको नमूना संकलन

स्काई न्यूज /असोज ३१, सुर्खेत ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विक्री वितरणमा रोक लगाइएको चमालको नमूना संकलन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आईतबार कम्पनीको सुर्खेत स्थित प्रादेशिक कार्यालयमा रहेको १ हजार ९ सय ७५ क्विन्टल चामलको नमूना संकलन गरेको हो ।

कम्पनीको काठमाडौ स्थित थापाथली गोदाममा रहेको कुहिएको चामललाई ‘रि पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने समाचार सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले उक्त चामलको विक्री वितरणमा रोक लगाएको थियो ।

खाद्य प्रविधि विभागले डिभिजन कार्यालय सुर्खेतलाई उक्त चामलको ल्याव परीक्षका लागि नमूना संकलन गर्न निर्देशन दिएपछि संयुक्त अनुगमन टोलीले चामलको नमूना संकलन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले असोज ६ गते विक्री वितरणमा रोक लगाइएको उक्त बासमति चामलको प्रयोगशालामा परीक्षणका लागि नमूना संकलन गरिएको जानकारी दिए ।

उनले ल्यावबाट परीक्षण नतिजा आएपछि मात्र त्यो मिसावट गरिएको खान अयोग्य हो वा होइन भन्ने थाहा हुने बताए । उनका अनुसार मिसावट भएको यकिन भएमा खाद्य ऐन २०२३ अनुसार कम्पनीलाई कार्वाही हुनेछ ।

Translate »