कर्णाली करिडोरको अनुगमन गर्न संसदीय टोली हुम्लामा

कात्तिक ११,हुम्ला । संसद्को विकास तथा प्रविधि समितिको टोली हुम्लामा आइपुगेको छ । कर्णाली करिडोरको निर्माण अबस्थाबारे अनुगमन गर्न समितिको टोली हेलिकोप्टरबाट हुम्ला आइपुगेको हो ।

समितिका सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा संसदीय टोली हुम्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्ला सडक निर्माणको अवस्था बुझ्न संसद्को विकास तथा प्रविधि समितिको टोली हुम्ला आएको उनले बताए।

कर्णाली करिडोरको हुम्ला खण्डमा निर्माणकार्य भइरहेको छ । त्यसको बिकास निर्माणबारे अनुगमन गर्न टोली हुम्ला आएको समितिका सदस्य एवं सासद रंगमती शाहीले जानकारी दिए । करिडोरको हुम्ला खण्डमा नेपाली सेना र हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कार्य गरिरहेको छ । काठमाडौंबाट सभापतिसहित हुम्ला आउन लागेको टोलीले निर्माणको स्थलगत जानकारी लिने काम गर्ने उनले बताए।

सडक निर्माणको काममा सुस्तता भएपछि संसदीय समितिले चासो देखाएको छ । स्थलगत अवलोकनका क्रममा कामलाई तीव्रता दिन संसदीय समितिले निर्देशन दिने टोलीमा सहभागी सांसदहरुको भनाइ छ । सिमकोट पुगेको टोली हिल्सा र लिमी लाप्चा क्षेत्रमा पनि सडक निर्माणको अवस्था बुझ्ने बताइएको छ । त्यस्तै, बाँदरठेलामा सलीसल्लासम्म सडकको अवस्था बुझ्न पनि पुग्नेछ ।

टोली चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुन लागेको पुलको बारेमा पनि बुझ्ने बताइएको छ । त्यसैगरी हुम्ला खण्ड करिडोरमा पर्ने साना ठूला १८ वटा पक्की पुल निर्माणको कार्य प्रगतिबारे पनि जानकारी लिने कार्यक्रम छ । हुम्ला खण्डको अनुगमनपछि टोली मुगु पुग्ने कार्यक्रम छ ।

टोलीमा समिति सभापति गुरुङ, सांसद शाही, यज्ञराज सुनुवारलगायतका अन्य समितिका सदस्य, सचिवालयका सदस्य र नेपाली सेनाका अधिकारीको सहभागिता छ ।(गोरखापत्र अनलाइन)

Translate »