२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

कर्णाली करिडोरमा पाँच पुल बन्ने



काठमाडौँ । उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ ।

हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए ।

पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङगार पुल निर्माण गर्न लागिएको हो । उनले भने, “यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ ।”यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्नका लागि ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको बहाव कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए।

नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माण स्थल पु¥याउने लक्ष्य लिइएको छ । करिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट मङ्सिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ ।

सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरि (गाडी वारपार गर्ने डुङ्गा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए। राष्ट्रिय गौरबको कर्णाली करिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो ।

कूल १४५ किमी लम्बाइको करिडोर हाल १० किमी मात्रै ट्र्याक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठिन भएको योजनाले जनाएको छ । कठिन भूगोलका कारण सडक विभागले सात किमी सडकको ट्र्याक खोल्न सेनालाई जिम्मेवारी दिएकामा तिहार लगत्तै काम सुरु गर्ने बताइएको छ । (रेडियो नेपाल)

प्रकाशित मिति : २०७८ कात्तिक १६ गते मंगलबार
Translate »