बढ्यो हवाई भाडा, कहाँको कति ?
कात्तिक १७, काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीले हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० रुपैयाँसम्म वृद्धि गरेका छन् । अब काठमाडौंबाट धनगढी उड्ने यात्रुले उक्त शूल्क बढी तिर्नु पर्नेछ । सबैभन्दा कम काठमाडौंबाट सिमरा उड्ने यात्रुले तिर्नुपर्छ । यो रुटका लागि इन्धनको चार्ज ९५ रुपैयाँ बढी लाग्ने छ । सरकारले इन्धनको मूल्यमा ११.६ प्रतिशत -१० रुपैयाँ प्रतिलिटर_ बढाएको थियो ।
वायुसेवा कम्पनीले समेत सोही दरमा हवाई भाडामा इन्धनको शूल्क वृद्धि गरेका हुन् । बढेको शूल्कलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ । हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट पर्वतीय उडानमा अब साविकको तुलनामा ३४५ रुपैयाँ बढी पर्छ । भद्रपुरमा ३ सय, विराटनगरमा २४०, जनकपुरमा १३०, भरतपुरमा १०५, पोखरामा १५५ र भैरहवामा २०५ रुपैयाँ इन्धन चार्ज बढी लाग्ने छ । काठमाडौंबाट नेपालगञ्जमा ३३०, तुम्लिङटारमा १८५, सुर्खेतमा ३४५ र राजविराजमा २०५ रुपैयाँ बढी लाग्ने छ । पोखरा–भरतपुरमा ११०, पोखरा–भैरहवामा १३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २३५, पोखरा–विराटनगरमा ३५५ र पोखराबाट पर्वतीय उडानमा अब ३१५ रुपैयाँ बढी लाग्ने छ । विराटनगरबाट पर्वतीय उडानमा ३२०, विराटनगरबाट तुम्लिङटारमा १०५ रुपैयाँ बढी लाग्ने छ । भरतपुर–भैरहवा रुटमा १३५ रुपैयाँ इन्धन चार्ज बढेको संघले जनाएको छ । (अनलाइन खबर)