टेलिकमको चाडपर्वमा अफर पुनः तिहार र छठको लागि पनि कार्यान्वयनमा

काठमाडौँ । नेपाल टेलिकमको चाडपर्वमा अफर पुनः तिहार र छठको लागि पनि कार्यान्वयनमा आएको छ ।

दसैँसँगै सुरु भएको अफर तिहार, नयाँ वर्ष  र छठका लागि पुनः सुरु भएको हो ।

अफरमा डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर रहेको नेपाल टेलिकमले जनाएको छ ।

अफरमा डेटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनका लागि २० जिबी डेटा र ९८ रुपैयाँमा तीन दिनका लागि ६ जिबी डेटा प्रयोग गर्न सकिने जनाइएको छ  ।

त्यस्तै, एक दिनका लागि एक एमबिपिएस गतिको अन लिमिटेड प्याक ६९ रुपैयाँमा पाइने टेलिकमले जनाएको छ ।

भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा २४ घण्टाभित्र प्रयोग गर्न मिल्ने गरी ४५ मिनेटको प्याक,४० रुपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने गरी ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनभित्र प्रयोग गर्न सकिने गरी एक हजार तीन सय मिनेटको प्याक उपलब्ध रहेको टेलिकमले जनाएको छ  ।

Translate »