सल्यानका दर्जन बढी खानी अलपत्र

सल्यान । सल्यानमा दर्जन बढी खानीहरू अलपत्र रहेका छन् । कोइला, चुनढुङ्गा, तामा, फलाम, सिसा लगागतका दर्जन बढी खानीहरू वर्षौँदेखि अलपत्र परेका हुन ।

जिल्लाको शारदा नगरपालिका–६ को चुनढुङ्गा, वडा न ७ मा रहेको तामा र फलाम, कुमाख गाउँपालिमा रहेको फलाम, कालीमाटी गाउँपालिकाको कोछट्टेमा रहेको सिसा खानी अलपत्र छन् । उत्खननका लागि सरकारी प्रक्रिया झन्झटिलो र कतै स्थानीयको विरोधका कारण खानीहरू अलपत्र परेका हुन ।

सरकारले उत्खननमा प्रतिबन्ध लगाएपछि खानी रहेको क्षेत्र पुरिँदै गएको गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले बताए । उनका अनुसार गाउँकै खानीको सदुपयोग नहुँदा कालीमाटीका झन्डै ५ हजार युवा वर्षेनी मजदुरीका लागि देशबाहिर जान बाध्य छन् ।

खानी तथा भूगर्भ विभागको २०४० को अध्ययन अनुसार शारदा नगरपालिका–६ खामेलेकमा रहेको चुनढुङ्गा नेपालकै गुणस्तरीय चुनढुङ्गा अन्तर्गत पर्दछ तर त्यसको अहिलेसम्म उपयोग हुन सकेको छैन ।

विश्वकर्मा सिमेन्टले चुनढुङ्गा प्रयोगका लागि लाइसेन्स लिए पनि उत्खनन भने हुन सकेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा उत्खनन रोकिएको वडाध्यक्ष भिकराज बुढाथोकीले बताए । (रेडियो नेपाल)

Translate »