जुम्लाको तातोपानी र सिञ्जा गाउँपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण

सागर परियार / जुम्ला । जुम्लाको पहिलो अन्तरपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण भएको छ । भौगोलिक रुपमा विकट जुम्लाका ग्रामीण बस्ती र पालिकामा यातायातको पहुँच विस्तार गर्न अन्तरपालिका जोड्ने १५ किमी सडक निर्माण भएको हो ।

जुम्लाको तातोपानी र सिञ्जा गाउँपालिका जोड्ने (थारमारे–दिलौरी) १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी लेक हुँदै सिञ्जा गाउँपालिकाको वडा नम्बर ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको तातोपानी गाउँपालिका वडा नं ५ अध्यक्ष हरिबहादुर डाँगीले बताए । उनका अनुसार तातोपानी पालिका र प्रदेश सांसद विकास कोषको सहयोगमा १५ किलोमिटर सडक निर्माण भएको हो ।

सडक निर्माणपछि यो क्षेत्रमा एम्बुलेन्स र गाडी गुड्न थालेका छन् । गाडी पुग्न थालेपछि सिञ्जा र तातोपानीका स्थानीयलाई सहज भएको छ । प्रदेश सांसद विकास कोषको ४५ लाख र तातोपानी गाउँपालिकाको १ करोड रुपैयाँ लागतमा १५ किलोमिटर थारमारे–दिलौरी सडक निर्माण गरिएको पालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

Translate »