२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

चौकुनेमा नव उद्यमीलाई विनाधितो ऋण सहयोग कार्यक्रम शुरु हुँदै



स्काई न्यूज /कार्तिक २९, सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले उद्यमी बन्न चाहनेहरुका लागि विनाधितो ऋण सहयोग कार्यक्रम ल्याएको छ । गाउँपालिकाले ग्रामिण क्षेत्रका बेरोजगार महिला, पुरुषलाई नव उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्यले विनाधितो ऋण सहयोग कार्यक्रम ल्याएको हो । पालिका भित्रका महिला, पुरुषलाई व्यवसाय तथा विभिन्न उद्यम गर्न १५ लाख रुपैयाँसम्म ऋण सहयोग उपलब्ध गराइने गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बेरोजगारलाई विनाधितो ऋण सहयोग उपलब्ध गराउन राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौताका लागि अन्तिम तयारी रहेको बताए । उनले गाउँपालिकाको सिफारिसमा बैंकमार्फत उद्यम गर्ने चाहना भएका महिला, पुरुषलाई ऋण सहयोग उपलब्ध हुने जनाए । उनका अनुसार आयआर्जन लिने गरी केही व्यवसाय एवं उद्यम गर्ने सोच बनाएका महिला, पुरुषलाई ऋण सहयोग उपलब्ध गराईने छ ।

‘बैंकले गाउँपालिकाको सिफारिशमा विनाधितो ५० हजारदेखि १५ लाखसम्म ऋण उपलब्ध गराउने छ,’ उनले भने, ‘गाउँपालिकाबाट सिफारिश भएको १० दिनभित्र उद्यमीलाई ऋण उपलब्ध गराइनेछ ।’ उनले आउँदो महीनादेखि विनाधितो ऋणका लागि चौकुने गाउँपालिकाले बैंकलाई सिफारिश गरी पठाउने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगनसिंह पाण्डेले पालिकाका तर्फबाट आवश्यक सबै कागजात राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा पु¥याई सकिएकाले छिट्टै शाखा कार्यालय विद्यापुरबाट विनाधितो ऋण प्रवाह हुने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : २०७८ कात्तिक २९ गते सोमबार
Translate »