अब सुर्खेतमा नयाँ सवारी भाडादर तोकिने
स्काई न्यूज /कार्तिक २९, सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग आफुखुशी भाडा असुल्न थालेपछि एकरुपता ल्याउन नयाँ वैज्ञानिक भाडा दर कायम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउन बसेको सरोकारवालाको बैठकले जिल्लाभरी लागु हुने गरि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारी साधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरुपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको जनाए ।
उनले विकृतिलाई हटाउँदै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउन सबै पक्षसँग अपिल गरे । ‘कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतमा दुर्घटना न्यूनिकरणका लागि यातायात व्यवस्था कार्यालय, सार्वजनिक यातायात क्षेत्रका संघ संस्था, ट्राफिक प्रहरी एवं सडक डिभिजनलगायत बढि जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘असल व्यवसायको संस्कार बसाल्न मनोबृति सुधार गरि यातायात क्षेत्रलाई जिम्मेवार बनाउँदै समृद्धि तर्फ तपाई हामी अघि बढ्नु पर्छ ।’ उनले यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको जिकिर गरे ।
बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाईले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांस सार्वजनिक सवारी साधनले मनमानी भाडा असुलेको, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको, सवारी साधनमा आफुखुशी संरचना बनाएको, सवारी साधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रुटपरमिट नभएका सवारी साधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेकोलगायतका समस्या पाईएको जानकारी दिए । उनले दुई दिने अनुगमनका क्रममा ५ सय सवारी साधनलाई चेकजाँच गर्दा ४९ वटा सवारी साधनलाई बाध्य भएर न्यून कार्वाही गरि ९४ हजार रुपैयाँ राजश्व संकलन गरेको बताए ।
त्यस्तै जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारी साधनहरुमा नियम कानून कार्यान्वयन तुलनात्मकरुपले सुधारोन्नमुख रहेपनि अझै पर्याप्त हुन नसकेको जिकिर गरे । उनले ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारी चालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको औल्याए । बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई सार्वजनिक यातायातमा नियम अनुसार छुट दिनुपर्ने माग अधिकारकर्मीहरुले राखेका थिए ।
ग्रामीण रुटमा सार्वजनिक सवारी साधनहरुले यात्रुहरुसँग बढी रकम असुल्ने गरेकाले त्यसलाई रोक्नु पर्नेमा अधिकारकर्मीहरुले जोड दिए । । यता सार्वजनिक यातायात क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले भने कोरोनाकालमा यातायात क्षेत्र बढी धरासायी बनेकाले अझैपनि व्यवसाय माथि उकस्न नसक्दा विभिन्न समस्याहरु झेल्नु परिरहेको प्रति राज्यको पनि यातायात व्यवसाय तर्फ ध्यान पुग्न आवश्यक रहेको औल्याए । उनीहरुले अहिलेपनि ट्राफिकलाई विभिन्न बहानामा घुस खुवाउनु पर्ने बाध्यता कायमै रहेको बताए । सडकमा रातो प्लेटका सवारी साधनले आफुखुशी यात्रु ओसारपसार गर्दा सार्वजनिक सवारी साधनलाई ठूलो नोक्सानी उठाउनु परिरहेकाले त्यतातीर समेत ध्यान दिन प्रशासनसँग उनीहरुले आग्रह गरे । बैठकमा केही यातायात व्यवसायी प्रतिनिधिहरुले अनावश्यक रहेको संगीत कर खारेज गर्न समेत माग राखेका थिए ।