कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् : रुख कटानमा ढिलाई हुँदा आयोजना प्रभावित

स्काई न्यूज /मंसिर २७, सुर्खेत । रुख कटानमा ढिलाई हुँदा कोहलपुर–सुर्खेत १ सय ३२ केभीए विद्युत प्रसारण लाइन निर्माणको काम प्रभावित भएको छ । प्रसारण लाइन विस्तारका लागि रुख कटान गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले स्वीकृत दिन ढिलाई गर्दा निर्माणको कामले गति लिन नसकेको हो । आयोजना कार्यालयले गत जेठमा पठाएको रुख कटान सम्बन्धी प्रस्ताव करीब ७ महिनादेखि मन्त्रालयमै अड्किएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले आयोजना कार्यालयबाट यसअघि नै विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुङ्गो लगाईसएिको बताए । उनले रुख कटानमा ढिलाई नभए तोकिएकै समयमा काम सकिने लक्ष्य राखिए पनि स्वीकृति ढिलो आएमा आयोजनाको अवधि लम्बिन सक्ने जनाए । ‘मन्त्रालयमा फाईल अड्किरहेको छ,’ उनले भने, ‘मन्त्रालयबाट रुख कटानका लागि स्वीकृत नआएसम्म अरु काम अगाडि बढाउन सकिँदैन ।’ अन्य स्थानमा रुख कटान भएपछि मात्रै टावर निर्माण गर्न सकिने उनको भनाइ छ ।

उनले संघीय मन्त्रिपरिषद्को बैठकले रुख कटानका लागि स्वीकृती दिएपछि मात्रै रुख काट्नका लागि बोलपत्र आव्हान, जग्गाको मुआब्जा लगायत प्रक्रिया शुरु हुने बताए । उनका अनुसार आयोजना क्षेत्रमा पर्ने १३ हजार ५६ वटा रुख काट्न कार्यालयले अनुमति मागेको छ । यद्यपि ! आयोजनाले वन क्षेत्र नपर्ने ठाउँमा टावर निर्माणका लागि फाउण्डेशन (जग) बनाउने काम गरिरहेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाईनमा डबल सर्किटका १ सय ६० टावर निर्माण गर्नुपर्नेमा हालसम्म १३ स्थानमा मात्रै टावरको फाउण्डेशन निर्माण भएको प्रदेश कार्यालय प्रमुख अग्रहरीले बताउँछन् । तीमध्ये १ सय ३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्र भित्रका रुख कटान हुनेछन् ।

आयोजनाको प्रतिवेदन अनुसार सुर्खेतमा ६ हजार ८ सय २०, बर्दियामा ३ हजार ३ सय २० र बाँकेमा २ हजार ९ सय १६ वटा रुख कटान हुनेछन् । कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन बिस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रुखको संख्या ९ महिना अघि नै सार्वजनिक गरेको थियो । प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा पाएको छ । निर्माण कम्पनीले आगामी भदौसम्म प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ ।

आयोजना र निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौता अनुसार आगामी भदौसम्म टावर निर्माणको काम सक्नुपर्ने हुन्छ । तर, रुख कटानका लागि प्रक्रियामा ढिलाई हुँदा काम नै प्रभावित भएको छ । गत वर्ष असारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपनि कम्पनीले करीब १४ महिनापछि गत भदौदेखि मात्रै निर्माणको काम थालेको हो । १ सय ३२ केभी विद्युत प्रसारण लाइन बिस्तारमा ढिलाई हुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा बिस्तार गरिएको भएपनि त्यो अपर्याप्त छ । आयोजना बाँकेको कोहलपुर सबस्टेशनबाट शुरु भएर वीरेन्द्रनगरस्थित सुर्खेत सबस्टेशनमा पुगेर टुङ्गिनेछ ।

Translate »