विद्युत महसुलको काउन्टर पुस ५ सम्म बन्द

स्काई न्यूज / पुस १,सुर्खेत । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरु विहीबारदेखि पुस पाँच गतेसम्मका लागि बन्द भएका छन् ।
बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले सबै आय संकलन काउन्टरहरु बन्द गरिएको नेपाल विद्युत प्राधिकरण कार्यालय सुर्खेतले बताएको छ ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर नेपाल विद्युत प्राधिकरणको एम–पावर विलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नु परेको विद्युत प्राधिकरण कार्यालय सुर्खेतका प्रमुख यवराज रावतले जानकारी दिए ।

उनले उक्त अवधि भर सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्राधिकरणले विभिन्न माध्यमबाट खेद प्रकट जारी गरिसकेको जनाए ।
उनका अनुसार पुस ६ गतेदेखि पूर्ववत रुपमै सेवाग्राहीलाई प्राधिकरणको महसुल भुक्तानी सेवा उपलब्ध रहने छ ।

Translate »