कर्णालीमा द्रुत गतिको इन्टरनेट : माग अनुपातको सेवा पु¥याउन सकस

‘एफटीटीएच’ प्रति उपभोक्ता आकर्षित

स्काई न्यूज / पुस ३, सुर्खेत । नेपाल टेलिकमले ल्याएको उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने फाइबर टु दी होम (एफटीटीएच) सेवाको माग दिन प्रतिदिन बढ्दो छ । पर्याप्त बजेटसँगै दक्ष कर्मचारी तथा प्रक्रियागत समस्याले कर्णालीका उपभोक्ताको माग अनुपातमा सेवा पु¥याउन सकस भईरहेको टेलिकमले जनाएको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले उपभोक्ता माँझ यो सेवाको माग बढेको हो । सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाइन ग्राहकको संख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाइन जडान गर्नतर्फ आकर्षित गरेको नेपाल टेलिकम सुर्खेतले बताएको छ । कार्यालयका अनुसार गतवर्ष जिल्लाभर ल्याण्डलाइन ग्राहकको संख्या ६ हजार ६०० रहेकोमा एफटीटीएच प्रविधि सञ्चालनमा आएसँगै चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ७ हजार ग्राहक पुगेका छन् । नेपाल टेलिकमले एफटीटीएच सेवा सुर्खेतभर विस्तार गरिरहेको छ । नेपाल टेलिकम सुर्खेतको तथ्यांक अनुसार एफटीटीएचको प्रयोगकर्ता सदरमुकाम वीरेन्द्रनगरमा मात्र ४२०० छन् ।

थप विस्तारको काम भइरहेकाले अब चालू आर्थिक वर्षभित्र ८ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको नेपाल टेलिकम सुर्खेत कार्यालयका प्रमुख वरिष्ठ इञ्जिनीयर सन्तोष शर्माले बताए । सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको उनको भनाइ छ । उनका अनुसार सोही अनुरुप हाल टेलिकमको वेबसाइट तथा एसएमएसबाटै एफटीटीएच सेवाको जानकारी लिन सकिने सुविधा उपलब्ध छ । ‘कर्णाली प्रदेशको दैलेख जिल्लाभर एफटीटीएच सेवा विस्तार भइसकेको छ,’ नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले भने, ‘छिट्टै सल्यानको सल्लीबजार, सुर्खेतको छिन्चुसँगै जाजरकोट, कालिकोट र जुम्लालगायतका जिल्लामा यो सेवा पु¥याउँदै छौं ।’ टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार अभियानमा जुटेको उनले बताए । उनका अनुसार यो प्रविधिमार्फत अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीबी र भिडियो सेवाहरू प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी बनेको छ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन (पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न माध्यमबाट महशुल बुझाउन वा रिचार्ज गर्न सकिने बताइएको छ ।

गुणस्तरीय सेवा पु¥याउन प्रयासरत
टेलिकमले आफ्नो सेवा अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयासरत रहेको निर्देशक मल्लिकले बताए । कर्णालीमा टेलिकमको सेवा सुविधा थप व्यवस्थित गर्दै सर्वसुलभ बनाउने काममा कोरोना महामारी लगायत कारणले ढिलाइ भएपनि अब तीव्रता दिईने उनको भनाइ छ । उनका अनुसार टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका लागि भौतिक संरचना अपुग भएपनि अहिले टेलिकम सुर्खेत कार्यालयबाटै सञ्चालन गर्नु परिरहेको छ । प्रादेशिक निर्देशनालय कार्यालय निर्माणका लागि वीरेन्द्रनगरस्थित भेरी एफएम नजिकै जग्गा भएपनि आवश्यक प्रक्रियागत कारणले भवन निर्माणमा ढिलाइ भइरहेको छ ।

मंसिर २२ गतेदेखि निर्देशनालयले कर्णाली प्रदेशका १० ओटै जिल्लास्थित टेलिकमका कार्यालयसँग समन्वय तथा निर्देशनात्मक कार्य गर्दे आएको छ । टेलिकमले कर्णालीमा चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको समेत निर्देशक मल्लिकले बताए । यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रूपान्तरण गरिएको उनको भनाइ छ । ‘अत्याधुनिक सूचना प्रविधि सञ्जाल विस्तार गर्ने लक्ष्यअनुसार ग्रामीण क्षेत्रमा दूरसञ्चारको क्षेत्र विस्तारमा निर्देशनालय जुटेको छ,’ उनले भने ।

Translate »