महँगी नियन्त्रण गर्न एमाले कर्णालीको माग

स्काई न्यूज /मंसिर ५, सुर्खेत ।  नेकपा एमाले कर्णालीले बढ्दो महँगी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर पछिल्लो समय बढ्दो महँगी एवं कालाबजारीले आम किसान, मजदुरलगायत सर्वसाधारणको दैनिकीलाई प्रभाव पारिरहेकाले तत्काल महँगी नियन्त्रण गर्न माग गरेको हो । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले सरकारी कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन नहुँदा आम नागरिकले सास्ती भोग्नु परिरहेको बताए ।

उनले आम नागरिकको दैनिकीसँग जोडिएका समस्या तथा गुनासातर्फ सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले विना पूर्वाग्राही भएर पूववर्ती केपी ओली सरकारले ल्याएका जनमुखि कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्दछु,’ उनले भने, ‘पूर्ववर्ती नेकपा एमाले सरकारले ल्याएका लोकप्रिय जनमुखि कार्यक्रमलाई वर्तमान सरकारले प्राथमिकता नदिँदा महँगी, कालाबजारी र भ्रष्टाचार बढिरहेको छ ।’ उनले वर्तमान सरकारको ध्यान आम नागरिकको जनजीविकातर्फ केन्द्रीत नभएर सत्ताको भागबण्डामै रोमली रहेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले अन्तरजातीय विवाह गरेका हुम्लाका वेपत्ता युवकको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरे । ‘६ दिनदेखि वेपत्ता पारिएका सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय वेपत्ता चन्द्र लुवारको खोजी कार्यमा सरकारले प्रहरीले तदारुकता देखाउनु पर्छ,’ उनले भने, ‘२९ मंसिरबाट बेपत्ता पारिएको उजुरी प्रहरीमा परेपनि खोजी कार्य तदारुकता नदेखाउँदा अहिलेसम्म अत्तोपत्तो लागेको छैन ।’ वेपत्ता युवाको खोजीमा स्थानीय प्रशासनसँगै प्रदेश सरकारको समेत ध्यान पुग्न आवश्यक रहेको उनको भनाइ थियो ।

एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक तयारी शुरु गरेको बताएको छ । आइतबार प्रदेश कमिटीको पहिलो बैठकले दुईवटै सम्मेलनलाई भव्य तरिकाले सम्पन्न गर्नेगरी छलफल गरेको हो । बैठकले जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीका लागि १५० संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने छ, जसमा ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी छनोट गरिने एमालेले जनाएको छ । दलितको हकमा भने सय जना सांगठनिक सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने एमाले नेता कँडेलले जानकारी दिए ।

Translate »