मापसे कक्षामा पैतालिस मिनेट….

स्काई न्यूज /पुस ८, सुर्खेत । जीवनमा कैयौं गल्तीहरु गरिए, जानेर वा नजानेरै । तर, यही बुधबार जान्दाजान्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्तो एउटा अक्षम्य गल्ती गरियो र सजाय पनि भोगियो । गल्ती यस्तो थियो कि कसैले मैले यस्तो गल्ती गरे भनेर बताउनै चाहँदैनथे । एक हजार रुपैयाँ जरिवानासँगै जिल्ला प्रहरी कार्यालयको व्याडमिन्टन हलमा पुगेर ट्राफिक प्रहरीको ४५ मिनेट सचेतना कक्षा लिएपछि मात्र आफ्नो सवारी चालक अनुमतिपत्र फिर्ता लिनु यसको प्रक्रिया थियो । तर, यसको अर्को पाटो कसैले थाहा पाइहाले हुने सामाजिक बदनामीका कारण मापसेको कारबाहीमा परेर पनि क्लास लिन नपरे हुन्थ्यो भन्ने धेरैको धारणा पाइन्छ ।
‘विहीबारदेखि जिल्ला प्रहरी कार्यालयको व्याडमिन्टन हलमा पुगेर ट्राफिक प्रहरीको ४५ मिनेट कक्षा लिनेमा म, मात्र होइन, केही प्रतिष्ठित करिब तीन दर्जन बढी मानिसहरु पनि थिए, असली नाम नबताउने शर्तमा परिवर्तित नाम कालिबहादुरले स्काई न्यूजलाई भने, ‘त्यही भीडको बीचमा मैले पनि ४५ मिनेटको मापसे सचेतना कक्षा लिएपछि आफ्नो लाइसेन्स लिएर घर फर्के ।’ जीवनमा पहिलोपटक मापसेको अभियोगमा बन्धक बनेको लाइसेन्स लिन त्यहाँ पुग्दा ममा अलिकति अपराधबोध, अलिकति डर र अलिकति जिज्ञासा पनि रहेको उनले सुनाए । मादक पदार्थ सेवन गरेर बाइक ड्राइभ गरेकोमा मनमा अपराधबोध थियो भने कसैले थाहा पाउँछ कि भनेर मनमा डर पनि थियो भने कार्बाही प्रक्रिया र ४५ मिनेटको मापसे कक्षाबारे जिज्ञासा पनि थियो ।
अखिर जे सुकै भएपनि लाइसेन्स फिर्ता लिनुपर्ने चुनौती आफैसँग थियो । त्यसैले मुखमा मास्क र हेलमेट लगाएरै मैले ट्राफिक प्रहरी कार्यालयमा प्रवेश गरेको थिएँ, कसैले नदेखोस भनेर । त्यहाँ पुग्दा मलाई लागेको थियो मै मात्र ‘अपराधी’ हुँ र कसैले देख्छन कि भन्ने । तर, त्यहाँ मजस्ता अपराधीहरु बाक्लै थिए, त्यसैले अब मैले ढुक्क भएर हेल्मेट र मास्क खोलेर लाइसेन्स फिर्ता लिने प्रक्रिया सुरु गरेको थिए ।
अब क्लासमै फर्किउ, क्लासमा ४५ मिनेट विभिन्न दुर्घटनाहरुका फुटेज देखाइए । सबैजना कतिखेर क्लास सकिएला भन्नेमा अधैर्य देखिन्थे । क्लास सबैका लागि लाइसेन्स लिनका लागि लिनैपर्नै सजाय मात्र जस्तो देख्न्थ्यिो । यस्तोमा क्लासमा एकजना सायद प्रहरी अधिकृत आउनुभयो प्रोजेक्टर बन्द गरेर केही सुझावहरु दिनुभयो र सबैलाई मापसे नगरी सुरक्षित सवारी चलाउन आग्रह पनि गर्नुभयो ।
दिनको चार बज्यो क्लास पनि सकियो । सबैका लागि लाजलाग्दो घटनाको रुपमा उल्लेख हुने यो घटनाका कारण म पनि पक्कै लज्जित छु । ‘तर मैले यसलाई तपाई सामु अनुभव प्रस्तुत गर्ने मनसाय राख्दै आफ्नो गल्ती स्वीकारोक्ति पनि गरेको छु,’ उनले भने, ‘कुनैपनि नशाले आफ्नो जीवन मात्र होइन, मान, सम्मान र प्रतिष्ठामा समेत आँच आउने देखेर फेरी त्यस्तो गल्ती नदोहो¥याउने प्रण गरेको छु ।’ यो भनाइ विहीबारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा मादक पदार्थ सेवन गरी सवारी चनाउने विरुद्ध सञ्चालन गरेको ४५ मिनेट क्लासका सहभागी परिवर्तित नाम कालिबहादुरको अनुभव हो ।

जिल्लामा मापसे गरी सवारी चलाउनेहरुबाट दुर्घटना बढ्न थालेपछि मादक पदार्थ सेवन जाँचलाई पुनः कडाई गर्न लागिएको छ । नियमित रुपमा मापसे चेकजाँच अभियान थालेको सुर्खेत ट्राफिकले विहीबार ३० जनालाई मापसे सचेतना कक्षा दिएको छ । मापसे सचेतना कक्षाको उद्घाटन सत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियम पालना गराई सडक अनुशासन एवं सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको औल्याए । उनले मादक पदार्थ सेवनकर्ताका कारण सवारी दुर्घटना बृद्धि हुँदा आर्थिक, सामाजिक तथा मानविय क्षती हुने भएकाले यसलाई रोक्नु सबैको जवाफदेहीता रहेको बताए । उनका अनुसार ८० प्रतिशत सवारी दुर्घटना चालकको लापरवाहीले हुने गरेकाले सुर्खेत ट्राफिकबाट असल अभ्यासको सुरुवात भएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले कर्णाली प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतना अभियानहरु सञ्चालन गर्नका लागि मन्त्रालयबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मापसे रोकथाम नियन्त्रण एवं ट्राफिक सचेतना अभियान सुर्खेतमा मात्र सीमित नराखेर प्रदेशभर सञ्चालन गर्न सुझाव दिए । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले सवारी मृत्युलोकमा पु¥याउने सडक दुर्घटना चौथो किलरका रुपमा रहेको बताए ।
उनले कर्णालीमा पछिल्लो पाँच महिना यता २०६ वटा सवारी दुर्घटनामा परी १०५ जनाको मृत्यु, २०१ जना गम्भीर घाईते र १६० जना सामान्य घाईते भएको जानकारी दिए । उनका अनुसार अब प्रदेशभरी सडक दुर्घटना न्यूनिकरणका ट्राफिक सचेतनासँगै मापसे अभियानलाई कडाईका साथ लागु गरिने छ । कार्यक्रममा सुर्खेत ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जिल्लामा ट्राफिक सचेतनासँगै मापसे अभियानलाई निरन्तरता दिन लागिएको जनाए ।
‘कोरोना सावधानी अपनाएर मापसे चेकजाँच गरिने र सकेसम्म मेसिनको प्रयोगलाई कम गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘आवश्यकता अनुसार मापसेलाई अस्पतालमा पु¥याएर चेकजाँच गरी कार्बाहीको दायरामा ल्याउने छौं ।’ उनले ट्राफिक नियम विपरित कार्य गर्ने सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिने कार्यक्रम समेत रहेको जानकारी दिए ।
उनका अनुसार जिल्लामा २५ प्रतिशत सवारी दुर्घटना मापसे गरी सवारी चलाउनेहरुबाट भएको पाईएको छ । लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक कार्यालयले जाँच अभियान सुरु गर्नु परेको उनले बताए । पछिल्लो पाँच महिना यता जिल्लाभरी भएका १४ वटा सवारी दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा २ सय ५ जनालाई मापसे कार्वाही गरिएको उनको भनाइ छ ।