हिउँले ढाक्यो हिमाल : सेतो कार्पेट झै सजियो स्वर्गकी रानी ‘रारा’
स्काई न्यूज /मंसिर १५, सुर्खेत । केही दिनयता देशभर चिसो बढेको छ । चिसो बढेपछि हिमाली क्षेत्रमात्र होइन, उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । चिसोले जनजीवन कठिनाइपूर्ण बनिरहेको बेला हिउँ खेल्ने र हिउँमा रमाउनेहरुका कारण रौनकता पनि छाएको छ । कर्णालीका हिमाली जिल्लासँगै पहाडका थुप्रै उत्तरी सीमावर्ती गाउँहरुमा भारी हिमपात भएको छ । नेपाल–चीन सीमा नाकासमेत रहेको हुम्लाका विभिन्न स्थानमा गत शुक्रबार बेलुकीदेखि विहीबारसम्म पनि लगातार हिउँ परिरहेको छ । हुम्ला सदरमुकाम सिमीकोट आसपासका क्षेत्रमा भारी हिउँ परेपछि स्थानीयहरुको दैनिकी कष्टकर बनेको हुम्लाबाट पत्रकार नवराज महतरा बताउँछन् । उता सीमा प्रहरी चौकीसम्म फोन सम्पर्क विच्छेद भएको छ । यता हिमपातले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यतिवेला करिब एक फिट हिउँ जमेको छ ।
बिहीबार मौसममा हल्का सुधार आएसँगै रारा ताल क्षेत्र सेताम्य टल्किएको छ । रारामा यो समय खासै पर्यटकको भिड नभए पनि दैनिक पाँचदेखि १० जना पर्यटक रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ । हिउँले रारा तालवरिपरिका डाँडा तथा चुचुराहरु सेताम्य भएका छन् भने ताल क्षेत्रवरिपरि एक फिटजति हिउँ जमेको छ । विहीबार रारामा हल्का घाम लागेपछि हिउँले ताल पूरै टल्किएर रमणीय देखिएको छ । सल्लेरीको, लामाचौर, जेउडे खोला र चुच्चेमारामा हिउँका कारण रारा आउने बाटो अवरुद्ध भएको स्थानीय बताउँछन् । तालवरिपरि रहेका चौरहरु टम्म हिउँले भरिएर रारालाई झनै रमणीय बनाएका छन् ।
रुखहरु हिउँले भरिएर सेता फूलका थुंगाजस्तै देखिएका छन् । हिमपातमा राराको मज्जा लिन सदरमुकाम गमगढीबाट हिमापत हुँदा हुँदैपनि मंगलबार धेरै युवा हिउँ खेल्न राररा पुगेका थिए । बुधबार पनि सदरमुकामबाट दर्जनौ युवा रारामा पुगेका थिए । बीचमा राराको निश्चल पानी किनार छेउ र जङ्गलभरी जमेको हिउँ हेर्दा जो कोहीलाई सेतो कार्पेट बिच्छाई राराकी अप्सरा सुनसान बसेको भान भएको मंगलबार रारामा हिउँ खेल्न पुगेका सदरमुकाम गमगढीका भाग्यराज भामको समूहले बतायो । २९ सय २९ फिट उचाईमा रहेको रारा ताल पुषदेखि फागुन सम्म सेताम्मे हुन्छ । जेठदेखि साउनसम्म विभिन्न जातका फूलहरुले ढकमक्क हुने रारा केही वर्षयता हवाई तथा सडक यातायात सहज भएपछि आन्तरिक पर्यटकको संख्या वृद्धि हुने गरेको भएपनि बासस्थानका कारण एक पटक आएको पर्यटक पुनः आउन नमान्ने गरेको स्थानीयहरु बताउछन् ।