आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स

स्काई न्यूज / पुस १७,सुर्खेत । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ ।

सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।

काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ ।

प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे  काठमाडौंबाट उडान गर्दै आएको छ ।

Translate »