सहकारी बैंकको रोजाईमा कर्णाली : सुर्खेत र दैलेखमा एक अर्ब बढी लगानी

स्काई न्यूज /पुस १७, सुर्खेत । कर्णालीको उत्पादन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरु लगानी विस्तार गर्न ईच्छुक रहेको पाईएको छ । राष्ट्रिय सहकारी बैंकले कर्णालीको उत्पादन क्षेत्रमा करिब एक अर्ब बढी रुपैयाँ लगानी गरेको बताएको छ । बैंकले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १८ औं वार्षिक साधारण सभाको पूर्व संध्यामा पत्रकार सम्मेलन गरेर लगानी बढाउन सुर्खेत र दैलेखमा सीमित शाखाहरुलाई प्रदेशभरी क्षेत्र विस्तार गर्न लागेको जानकारी दिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले कर्णालीमा जल, जंगल, जुडिबुटी र पर्यटन क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले बैंक आफ्ना शाखाहरु प्रदेशका दश वटै जिल्लाहरुमा विस्तार गर्न लागेको बताए । उनले सुर्खेत र दैलेखको उत्पादन क्षेत्रको बृद्धिका लागि बैंक एक अर्ब बढी रुपैयाँ लगानी गरेको जनाए । ‘कर्णालीमा हाल सुर्खेत र दैलेखमा बैंकका दुई वटा मात्र शाखा छन्,’ उनले भने, ‘अब प्रदेशका दश वटै जिल्लामा शाखा विस्तार स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका छौं । छिट्टै स्वीकृत हुनेमा हामी विश्वस्त छौं ।’ उनले हाल सुर्खेत र दैलेखका ६ सय सहकारी मार्फत संकलित निक्षेप ६८ करोड रुपैयाँ भएपनि १ अर्ब बढी लगानी गरिएको जानकारी दिए । उनका अनुसार बैंकले सुर्खेत जिल्लाको उत्पादन तथा व्यापार प्रवद्र्धनका लागि ९० करोड बढी रुपैयाँ लगानी गरेको छ ।

‘हाल कर्णाली लगानीका लागि भर्जिन क्षेत्र भएकाले बैंकको पहिलो रोजाईमा परेको छ,’ उनले भने, ‘कम से कम जोखिम क्षेत्रमा लगानी बढाउँदै बैंक सामाजिक तथा आर्थिक रुपान्तरणको महत्वपूर्ण हिस्सेदार बन्न चाहान्छ ।’ उनले कोराना महामारी तथा अन्य राजनीतिक अस्थिरता लगायतका कारणले ढिलाई भएपनि प्रदेशको आर्थिक समृद्धिका लागि बैंक कर्णाली प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको जनाए । उनका अनुसार बैंक यति बेला १८ औं वार्षिक साधारण सभाको संघारमा रहेकाले आईतबार वीरेन्द्रनगरमा यस क्षेत्रका ईकाइमा रहेका ६ सय वटा सहकारी संघ÷संस्थाका प्रतिनिधिसँग लगानी विस्तार तथा सम्भाव्यताका बारेमा छलफल गरिने छ । उनले सहकारी क्षेत्रमा आकर्षण रहृेको संरक्षित पूँजी फिर्ता कोषको रकम बैंकले आफ्ना सदस्यहरुलाई निरन्तर प्रदान गर्दै आईरहेको जानकारी दिए । उनका अनुसार संरक्षित पूँजी फिर्ता कोषबाट गत वर्ष बैंकका बचत र कर्जा कारोवार गर्ने बाह्र हजार ४६ वटा सहकारी संघ÷संस्थालाई वितरण गरिएको छ । बैंकले आउँदो आर्थिक वर्षमा ३ अर्ब ५० करोड शेयर पूँजीसहित ७८ अर्ब १ करोड निक्षेप संकलन गरी ४९ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ ।


पत्रकार सम्मेलनमा बैंकका सञ्चालक तथा कर्णाली प्रदेश संयोजक हरिहरनाथ योगीले कर्णालीमा हाल पूँजीको अभाव रहेकाले बैंक बाहिरी लगानी कर्तालाई प्रदेशको उत्पादन क्षेत्रमा लगानी आकर्षित गर्न तयार रहेको बताए । उनले लगानीको क्षेत्र पहिचानका लागि प्रदेश तथा स्थानीय सरकारहरुसँग समन्वय, सहयोग र सहकार्यका लागि निरन्तर छलफल तथा सम्वाद भईरहेको जनाए । बैंक लगानीमा मात्र केन्द्रित नरहेर क्षमता विकास तथा प्राविधिक सहयोगमा समेत हात बढाउन तयार रहेको उनको भनाई थियो । बैंकका प्रमुख कर्जा अधिकृत प्रमोदकुमार घिमिरेले कम जोखिम क्षेत्रमा लगानी गरेर बैंक प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणमा हातेमालो गर्न ईच्छुक रहेको बताए । उनले कर्जा सुरक्षण देखेर सुर्खेतमा एउटै संस्थालाई विनो धितो १३ करोड बढी रकम लगानी गरिएको जानकारी दिए । उनका अनुसार बैंकसँग हाल लगानीका लागि पर्याप्त पूँजी मौज्दात रहेपनि कर्णालीमा लगानीको क्षेत्र खोजी रहेका छौं ।

Translate »