उपभोक्ताको हितप्रति संवेदनशील बनौं : कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कार्चेन

स्काई न्यूज /चैत १, सुर्खेत ।  कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा (कार्चेन)ले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्न आग्रह गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्चेनले नाफा कमाउने नाममा उपभोक्ताको हितलाई खेलवाड गर्ने जोसुकैलाई कानून अनुसार कार्वाही हुने बताए । उनले धरतीमा भएका सबै मानिस उपभोक्ता भएकाले उपभोक्ताको हितप्रति सबै पक्ष जिम्मेवार बन्नु पर्ने औल्याए ।

‘उपभोक्ता अधिकार स्थापित गराउन प्रदेश सरकारले आवश्यक कदम अघि बढाई सकेको छ,’ उनले भने, ‘अखाद्य वस्तुको बिक्रीवितरण रोक्न हामी सबै जुट्नु पर्छ ।’ अखाद्य वस्तुको उपभोगमा उपभोक्ता स्वयम् सचेत हुनुपर्ने औल्याउँदै उनले दैनिक उपभोग्य वस्तुको मूल्यलाई नियन्त्रणमा राख्न राज्यका तर्फबाट अधिकतम् पहल जारी राखिएको जनाए ।

त्यस्तै कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने कार्य सबैको जिम्मेवारी रहेकाले उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयनमा जुट्नु पर्ने औल्याए । उनले म्याद नाघेका अखाद्य वस्तुको उपभोगमा स्वयम् उपभोक्ता पनि सचेत हुन आग्रह गरे । ‘व्यवसायी पनि कुनै न कुनै रुपमा उपभोक्ता नै हुनुहुन्छ, सरकार उद्योगी व्यवसायीलाई हतोत्साहित गर्न चाहँदैन, व्यवसायी पनि उपभोक्ताको हितप्रति संवेदनशील हुनु पर्छ,’ उनले भने, ‘नियमनकारी निकाय जस्तै उद्योगी, व्यवसायी पनि जनताप्रति उतिकै उत्तरदायी बन्नु पर्छ ।’


कार्यक्रममा उपभोक्ताकर्मी तथा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण कोइरालाले उपभोक्ता अधिकार प्रत्याभूत गराउन सरकारले विशेष सचेतना कार्यक्रम बढाउन सुझाव दिए । विश्व उपभोक्ता दिवसलाई सार्थक तुल्याउन उपभोक्ता स्वयम् सचेत नहुँदासम्म उपभोक्तामाथिको ठगी नरोकिने भन्दै उनले उपभोक्ता सचेतना आवश्यक रहेको औल्याए ।

यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बजार अनुगमनका क्रममा नियमकानुन मात्र नहेरी व्यवहारिक पक्षको पनि ख्याल गरिनुपर्नेमा जोड दिए । उनले व्यवसायीका सामान जफत गरेर नष्ट गरिनुभन्दा पनि उपभोग्य मिति सकिएका खाद्य वस्तु सम्बन्धित पक्षले फिर्ता लैजाने वातावरण बनाइदिनुपर्ने औल्याए । यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा दिवसको अवसर पारेर व्यानर, प्लेकार्डसहितको ¥यालीले बजार परिक्रमा गरेर वीरेन्द्र चोकमा कार्यक्रम सम्पन्न गरेको थियो ।

 

Translate »