पाइला परियोजना : कालिकोटमा ‘एक गाउँ, एक उत्पादन’ प्रभावकारी बन्दै

स्काई न्यूज /मंसिर ११, सुर्खेत । कालिकोट जिल्लामा ‘एक गाउँ एक उत्पादन’ अभियान प्रभावकारी बन्दै गईरहेको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकाले सहास नेपालको पाइला परियोजना मार्फत ‘एक गाउँ एक उत्पादन’ अभियानलाई प्रवद्र्धन गरेपछि प्रभावकारी बन्दै गईरहेको हो । । कालिकोटलाई विशेष पकेट क्षेत्रको रुपमा विकास गर्न कृषिको कुनै एक उत्पादनलाई दिगो पहिचान दिनका लागि ‘एक गाउँ एक उत्पादन’ अभियान जिल्ला व्यापी विस्तार गर्न लागिएको छ ।
फेल्म नेपालको आर्थिक सहयोगमा गत वर्ष चैतदेखि लागु गरिएको ‘पाइला परियोजना’ मार्फत सहास नेपालले पहिलो चरणमा नरहरिनाथ गाउँपालिकाका १ हजार १ सय ४१ महिलालाई ४५ वटा समूह मार्फत कृषि उत्पादकत्व बृद्धि गरि दिगो आय आर्जनसँगै जीवनस्तरमा सुधार ल्याउन ‘एक गाउँ एक उत्पादन’ अभियान शुरु गरिएको हो । ती मध्ये ३ सय ७५ दलित, २ जनजातीसँगै ७ सय ६४ खसआर्य महिलालाई समेटेर बनाईएको ४५ वटा समूह मार्फत साना पशुपंक्षी एवं स्थानीय कृषिजन्य अर्गानिक तरकारी तथा वीउ विजन उत्पादन कार्यमा उनीहरुलाई लगाईएको छ ।
विभिन्न समूहले अपाङ्गता, एकल महिला तथा विपन्न महिलालाई प्राथमिकता दिँदै नियमित बचत, मासिक बैठक, आवश्यकतामा आधारित योजनाको छनौट गरि व्यापक छलफलपछि परियोजना तथा स्थानीय पालिकासँग आफ्ना मागहरु सम्बोधनका लागि पहल गर्दै आईरहको रुपादेवी महिला समूहका अध्यक्ष अन्खा नेपालीले बताईन् । उनले समूहका दिदीबहिनीहरु मिलेर पाइला परियोजनाको समन्वयमा साना पशुपंक्षी पालन, तरकारी एवं कागतीजन्य अमिलो विरुवाको ‘घर बगैंचा’ मार्फत उत्पादन तथा विक्री वितरण शुरु गरिएको जनाईन् ।
उनका अनुसार दलित, विपन्न अपाङ्ग तथा एकल महिलालाई प्राथमिकता दिँदै कृषिजन्य वस्तुको उत्पादन बृद्धि गरि दिगो आर्यआर्जनमा जोड दिईएको छ । उता नरहरिनाथ गाउँपालिकामै ‘पाइला परियोजना’ मार्फत ४ सय ५८ जना १९ वर्ष मुनिका किशोरीलाई समेटिएर बनाईएको २० वटा किशोुरी सम्वाद केन्द्र मार्फत जीवन उपयोगी जानकारीसँगै क्षमता विकासका लागि छलफल गर्दै आईरहेको सरस्वती किशोरी सम्वाद केन्द्रका संयोजक विमला महतराले बताईन् ।
उनले किशोरी सम्वाद केन्द्र मार्फत व्यक्तिगत तथा सामूहिक जीवनमा आईपर्ने विभिन्न समस्याहरुको रोकथाम तथा निदानका बारेमा व्यापक छलफल एवं परिचर्चा हुने गरेको जनाईन् । उनका अनुसार किशोरी सम्वाद केन्द्र मार्फत किशोरीहरुको वैचारिक, आर्थिक तथा सामाजिक जीवन स्तरलाई माथि उठाउन विभिन्न प्रयासहरु शुरु गरिएका छन् । यसैवीच सहास नेपालले पाइला परियोजना मार्फत नरहरिनाथ गाउँपालिकामा गरेका विभिन्न क्रियाकलापसँगै कार्यक्रमको प्रभावकारिताको सामाजिक लेखापरिक्षण गरिएको छ ।

सामाजिक लेखापरिक्षण कार्यक्रममा विभिन्न महिला तथा किशोरी समूहका प्रतिनिधि तथा पर्यवेक्षकसँगै सरोकारवाला, गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, २ नम्वरका वडाध्यक्ष प्रेमबहादुर विष्ट, सहास नेपालका क्षमता विकास व्यवस्थापक टंक गौतम, दातृनिकाय फेल्म नेपालका कार्यक्रम व्यवस्थापक रिजुता शर्मा, कार्यक्रम एरिया म्यानेजर धनगढीका प्रदीपसागर तिवारी, पाइला परियोजनाका परियोजना संयोजक मनिक्षा आचार्य, सामाजिक लेखापरिक्षक प्रसिद्ध न्यौपाने, गाउँपालिका कृषि शाखा प्रमुख भीमबहादुर वली एवं पशु शाखा प्रमुख वीरेन्द्र बटालालगायतको सहभागिता रहको थियो ।
यसअघि गाउँपालिकाका उपाध्यक्ष शाहको नेतृत्वमा सहास नेपालको पाइला परियोजनाले गरेका क्रियाकलाप तथा प्रभावकारिताको संयुक्त अनुगमन गरेका छन् । अनुगमनमा महिला समूहले नियमति बचत, मासिक बैठक, व्यापक छलफल गरि योजना तर्जुमा निर्माण, आवश्यकतामा आधारिता मागहरु समबन्धित निकायसँग कार्यान्वयनका लागि पहल गर्ने गरेको, समूहका गतिविधि एकदमै पारदर्शी रहेको पाईएको गाउँपालिकाका उपाध्यक्ष शाहले बताए ।
उनले परियोजना मार्फत मुख्यतहः जलवायु परिवर्तन अनुकुलन, खाद्य सुरक्षा, विपद् व्यवस्थापनसँगै कृषि क्षेत्रको सुधारका लागि विशेष पहल तथा पैरवी गरेको पाईएको जनाए । उनका अनुसार चार वर्ष सम्म लागु हुने पाइला परियोजनाले गाउँपालिकासँगको सहकार्यमा नागरिकको आर्थिक जीवनस्तर माथि उकास्न ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।