जिससले प्रदेश तथा स्थानीय तहवीच अर्थपूर्ण भूमिका खेल्नु पर्छ : नेता कँडेल

स्काई न्यूज /पुस १८, सुर्खेत । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व मन्त्री यामलाल कँडेलले जिल्ला समन्वय समितिले प्रदेश तथा स्थानीय तह वीच अर्थपूर्ण समन्वयकारी भूमिका खेल्नु पर्नेमा जोड दिएका छन् । सोमबार वीरेन्द्रनगरमा जिसस सुर्खेतको छैठौं सभाको उद्घाटन गर्दै नेता कँडेलले प्रदेश र स्थानीय सरकार वीच पुलको काम गर्दै विकास निर्माण तथा योजनाहरुको प्रभावकारितासँगै गुणस्तरीयताका लागि जिससले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए । उनले फरक–फरक ठाउँ र जिम्मेवारी भएपनि सबैको उद्देश्य जनताका लागि सेवा पु¥याउनु रहेकाले देखिने गरि समन्वय तथा सहकार्य अपरिहार्य रहेको औल्याए ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य कृष्णबहादुर जिसीले जिल्लाको एकीकृत विकासका लागि जिससले स्थानीय तहहरु बीचको समन्वयकारी प्रभावकारीलाई बनाउनुपर्नेमा जोड दिए । एउटा स्थानीय तहले गरेका राम्रा अभ्यासहरुको आदान–प्रदानका लागि पनि जिल्ला समन्वय समिति उपयुक्त माध्यम हुन सक्ने जिसीको भनाइ थियो ।अर्का प्रदेशसभा सदस्य खडकबहादुर पोख्रेलले स्थानीय सरकारले गरेका गतिविधिहरुको अनुगमन, मूल्यांकन जस्ता कार्यहरु जिससले आम जनतालाई देखिने गरि गर्न आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले नेपालको संविधानले सबै सरकारहरुको समन्वय तथा सहकार्यलाई जोड दिएको बताउँदै जिल्लाको समग्र विकासका लागि सबैसँग हातेमालो गर्न तयार रहेको बताए । उनले सामूहिक प्रयासले नै विकास सम्भव भएकाले समन्वय तथा सहकार्यबाटै साझा गन्तव्यमा पुग्न सकिने विश्वास व्यक्त गरे ।

उपप्रमुख सचिनकुमार बडुवालले सीमित स्रोतसाधन र अधिकार क्षेत्रका कारणले जिससले सोचेअनुरुप काम गर्न नसकिएको जिकिर गरे । उनले गुणस्तरीय विकासका लागि जिससको भूमिकालाई बढाउन थप अधिकार आवश्यक रहेको जनाए ।

सभाले स्थानीय तहहरुमा सञ्चालन गरिने ५० लाख भन्दा वढिका योजना तथा कार्यक्रमहरुको स्थानीय तहहरुसंगको समन्वयमा अनुगमन गरि सम्वन्धित स्थानीय तह, प्रदेश सरकार एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवश्यक सुझाव सहित प्रतिवेदन पेश गरिएको बताएको छ ।

स्थानीय तहका पदाधिकारी एवम् कर्मचारीका लागि स्थानीय तहको माग अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंगको समन्वयमा स्थानीय तहका विभिन्न क्षमता विकासका कार्यक्रमहरु सञ्चालनमा ल्याइने, जिल्लालाई सूचना तथा अभिलेख केन्द्रको रुपमा विकास गर्ने, स्थानीय तहहरुको सूचनालाई एकीकृत गरी जिससलाई सूचना वैंकको रुपमा विकास गर्ने लगायतका योजनाहरु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

Translate »