पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

पुस २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् ।
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो । आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ । निगमको पछिल्लो विवरणअनुसार १५ दिनमा ९९ करोड रुपैयाँ नाफा हुने देखिएको छ ।

निगमले १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । निगमलाई मूल्य घटाउन चौतर्फी रूपमा दबाब परे पनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तरराष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो । रासस

Translate »