अनुदानको चुलो नौ महिनादेखि बेवारिसे

पुस २९, सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क उपलब्ध गर्ने उद्देश्यले ल्याइएकोे ‘सुधारिएको चूलो’ ९ महीनादेखि बेवारिसे बनेको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै ३५७ थान सुधारिएको चूलोमध्ये ११७ थान चूलो ९ महीनादेखि बेवारिसे बनेको हो ।

गत वैशाखमा सल्लीसल्लाबाट खच्चरमा ढुवानी गरेर चूलो सो पुल नजिकै ल्याइएको थियो । त्यसयता अहिलेसम्म बेवारिसे अवस्थामा छोडिएको गाउँपालिकाकी सदस्य जसमती शाहीले बताइन् । २४० थान चूलो ट्र्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकोमा ११७ थान चूलो भने खार्पुनाथमै छोडिएको छ । ट्र्याक्टरबाट सिमकोट पुर्‍याइएको भाडा सम्बन्धित निकायले नदिएपछि २४० चूलो ट्र्याक्टर मालिक कुल रावतको घरमा थन्क्याइएको छ ।

आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको उनले बताए । ती चूलोमा ‘नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत लक्षित वर्गलाई वितरणका लागि’ लेखिएको छ । उक्त गाउँपालिकाको कुन वडाले सो चूलो खरीद गरेको भन्ने पहिचान समेत हुन सकेको छैन । बेवारिसे छोडिएका चूलो घामपानीका कारण खिया लागेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गत आर्थिक वर्ष २०७७र७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि बोलपत्रद्वारा कम्पनी छनोट गरी ती चूलो खरीद गरिएको बताए । सिमकोटसम्म पुर्‍याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई ती चूला वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । एउटा चूलो ८ हजार ५०० रुपैयाँका दरले खरीद गरिएको थियो ।

१ हजार ११६ घरधुरीका लागि उक्त चूलो वितरणको जिम्मा गाल्भा निर्माण सेवा कम्पनीले लिए पनि बाँकी ७५९ चूलोको अत्तोपत्तो छैन । उक्त परिमाणको चूलो खरीदका लागि ९४ लाख ९४ हजार ५०० रुपैयाँ खर्च गरिएको बताइएको छ । उक्त गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यस विषयमा आफूलाई थाहा नभएको बताए । फाइल खोज्ने क्रममा ती चूलो वितरण भइनसकेको पाइएको उनले बताए । दुई वर्षअघि नै पाइसक्नुपर्ने चूलो अझैसम्म कसैले पनि नपाएको उनको भनाइ थियो । खरीद तथा ढुवानीको जिम्मा पाएको संस्थाका प्रतिनिधि कृष्ण केसीले भौगोलिक विकटता र हिमपातका कारण सबै चूलो हुम्लामा पुर्‍याउन नसकिएको बताए । चूलो बेवारिसे रहेको सम्बन्धमा छानबिन गरिने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । रासस

Translate »