गणेशजलको ‘गणेशजल सन्देश’ विमोचन

माघ १२, सुर्खेत । गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो त्रैमासिक मुखपत्र ‘गणेशजल सन्देश’ को विमोचन गरेको छ । संस्थाले विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा ‘गणेशजल सन्देश’ पत्रिकाको विमोचनसँगै कला, सस्कृति र संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत सुर्खेतका तीन जना वरिष्ठ कलाकार गंगा केसी, भीमबहादुर कार्की र प्रेमदेव गिरीलाई सम्मान गरेको हो । सम्मानित कलाकारलाई जनही पाँच हजार रुपैयाँ, संस्थाको लोगो र नाम अंकित भित्ते घडी, संस्थाको नाम अंकित झोला र दोसल्लासहित सम्मान गरेको छ ।

कार्यक्रममा ‘गणेशजल सन्देश’ पत्रिकाको विमोचन गर्दै जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले पश्चिम नेपालमा नै गणेशजल सहकारीले शुरुदेखि नै नयाँ र फरक ढंगका कार्यक्रम सञ्चालन गरिरहेकाले सहकारीका मूल्य, मान्यतामा टेकेर सहकारी शिक्षा पढाउन र सहकारीले समूह वा बिना धितो लगानी गर्दा सचेत रहन सुझाव दिए । उनले त्रैमासिक पत्रिकाबाट सहकारीले गरेका गतिविधिहरुका बारेमा शेयर सदस्यसँगै अन्य सहकारीकर्मीलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सहकारी बैंक, सञ्चालक समितिका निवर्तमान सदस्य हरिहरनाथ योगीले सहकारीका सात वटा सिद्धान्तमध्ये सहकारी शिक्षा, तालिम र सूचना प्रविधिलाई गणेशजलले जोड दिएकाले वेभसाइटमा पहँुच नहुनेहरुका लागि गणेशजल सन्देश पत्रिकाले सहयोग पुग्ने बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदम दाहालले गणेशजल सहकारीले हरेक वर्ष नयाँ–नयाँ कार्याक्रमको योजना बनाई त्यसै अनुरुप कार्यक्रम गर्दा सदस्यहरुको रोजाईमा परेर ५ वर्षमै करिब ५० करोड बराबरको कारोबार गर्न सफल भएको जनाए । ‘राज्यले नागरिकस्तरबाट सहकारी मार्फत गरेका राम्रा कामलाई नदेख्ने, नबुझ्ने, बझ्न पनि नचाहने गरेको छ,’ उनले भने, ‘तर केही सामान्य गल्ती देख्दा सबैले सहकारीमा नराम्रो देख्ने प्रचलनले गर्दा स्थानीय नागरिकको सहजै मन जित्न सकस भईरहेको छ ।’

वरिष्ठ कलाकार गंगा केसीले कला र संगीतलाई पनि सँगसँगै अगाडि लगेर संस्कृति जगर्नामा गंगाजल सहकारीले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले गणेशजल सन्देश त्रैमासिक पत्रिका प्रकाशन गरेर गणेशजल सहकारीका गतिविधिहरु पारदर्शी बन्न मद्दत पुग्ने जिकिर गरे । उनले अरु सहकारीका गतिविधिलाई समेत समेटेर प्रकाशनलाई निरन्तरता दिन सके सबैको स्वामित्व बन्न सक्ने बताए । संस्थाका अध्यक्ष प्रेमकुरमार बिसीले सबै नागरिकको विश्वास, सहकार्य तथा समन्वयबाट तुलनात्मकरुपले आर्थिक कारोवार विस्तारसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आईरहेको जनाए ।

Translate »