कर्णाली सरकारले राजधानीको मुहार फेर्न ‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास आयोजना’ ल्यायो

स्काई न्यूज /माघ १३, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई आधुनिक शहर निर्माण गर्न प्याकेजमै कार्यक्रम ल्याएको छ । प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको क्वीनेट बैठकले वीरेन्द्रनगरलाई आधुनिक शहर बनाउन ‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास आयोजना’ कार्यक्रम घोषणा गरेको हो ।

आधुनिक शहर निर्माणका लागि मुख्यमन्त्रीको संयोजकत्वमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय, योजना आयोग र स्थानीय पालिका सदस्य रहने कमिटी गठन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले जानकारी दिए । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको अर्को १२ सदस्यीय कार्यसमिति गठन गरेर जेठ १५ गते भित्र आधुनिक शहर निर्माणका लागि खाका तयार गर्न कार्यदेश दिईएको बताए ।

उनका अनुसार नवगठित प्रदेश सरकारको पहिलो योजनाका रुपमा राजधानीबाटै विकासको शुभारम्भ गर्न ‘वीरेन्द्रनगर स्थानगत एकीकृत विकास आयोजना’ अघि सारिएको हो । यसबाट प्रदेश राजधानीको मुहार फेरिने प्रदेश सरकारको विश्वास रहेको उनको भनाइ छ ।

Translate »