कर्णालीको अर्गानिक उत्पादन विक्री नभए प्रदेश सरकारले जिम्मा लिन्छ : कृषि मन्त्री शर्मा


स्काई न्यूज /फागुन ६, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णालीमा उत्पादित अर्गानिक वस्तु विक्री नभए त्यसको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आयोजना गरेको ‘खाद्य प्रशोधन प्रविधि सम्बन्धि’ तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले स्थानीय कच्चा पदार्थमा आधारित उत्पादन विक्री नभए त्यसको जिम्मा प्रदेश सरकारले लिने बताएका हुन् ।
उनले प्रदेश सरकार गुणस्तरीय कृषिजन्य वस्तुको उपभोगमार्फत् मानव स्वास्थ्य तथा पर्यावरणीय सन्तुलन कायम राख्दै खाद्यवस्तुको संरक्षण, उत्पादन, बिक्री वितरण र प्रवर्धनमा जुटेको जनाए । कृषिको व्यवसायीकरण गर्न कृषिजन्य उद्योगलाई प्राथमिकता दिँदै आत्मनिर्भरता र रोजगारी सिर्जनामा प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढेको उनको भनाइ थियो ।


कार्यक्रममा उद्योग तथा उपभोक्त हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक मुकुन्दनाथ योगीले स्थानीय कच्चा पदार्थमा आधारित कृषिजन्य उद्योगको उत्पादन, बिक्री वितरण र प्रवद्र्धनसँगै आम उपभोक्ताहरुको हक हित संरक्षणमा निर्देशनालय जुटेको बताए । उनले निर्देशनालयबाट लघु, घरेलु तथा साना उद्योगको विकास विस्तार र प्रवर्द्धनसँगै सीपमूलक तालिम प्रवाह हुँदै आएको जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर बनाई राख्न उद्यमीका लागि खाद्य प्रशोधन प्रविधि सम्बन्धि तालिम कार्यालयबाट सञ्चालन हुँदै आएको बताए । उनले यस वर्षपनि पहिलो चरणमा सुर्खेत जिल्लाका अगुवा खाद्य उत्पादनसँग सम्बन्धित २४ जना उद्योगीलाई खाद्य प्रशोधन प्रविधि सम्बन्धि ३ दिने तालिम पश्चात प्रमाणपत्र समेत प्रदान गरिएको जानकारी दिए ।


