सुर्खेतका सडकमै सवारी चालकको स्वास्थ्य चेकजाँचसँगै यान्त्रिक परीक्षण

स्काई न्यूज /फागुन ८, सुर्खेत । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीमा सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न सचेतना कार्यक्रमसँगै सवारी चेकजाँचमा कडाई शुरु गरेको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो ७ महिनामा २६८ वटा सवारी दुर्घटनामा परी ८० जनाको मृत्यु भएपछि ट्राफिकले सवारी चालकको स्वास्थ्य चेकजाँचसँगै सवारी साधनको ‘यान्त्रिक परीक्षण’ शुरु गरेको हो ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि कर्णाली बाहिरिने र भित्रिने सार्वजनिक यातायातका सवारी चालकको स्वास्थ्य चेकजाँचसँगै सवारी साधनको ‘यान्त्रिक परीक्षण’ शुरु गरेको छ । विभिन्न निकायका प्राविधिकहरुको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले भेरीगंगाको छिन्चुमा सोमबारदेखि एकीकृत शिविर मार्फत सार्वजनिक सवारी साधनका चालक तथा सह–चालकको स्वास्थ्य परीक्षण, आँखा चेकजाँच, मनोपरामर्श र सवारी साधनको यान्त्रिक परीक्षण शुरु गरेको हो ।

९० प्रति सवारी दुर्घटना मानविय त्रुटीका कारण हुने गरेको बताउँदै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रज्वल मर्हजनले कर्णाली प्रदेशभरी हप्तामा सरदर ७ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको जानकारी दिए । उनले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको अवस्था तथा सवारी चालकको स्वास्थ्यसमेत राम्रो हुनुपर्ने बताए ।

‘सवारी दुर्घटना नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरीको भूमिकामात्रै पर्याप्त हुँदैन,’ उनले भने, ‘यसका लागि आम नागरिक तथा सवारीसँग सम्बन्धित सवारी चालक, सवारी परिचालक, यातायात व्यवस्था कार्यालय, सडक विभागजस्ता विभिन्न ‘स्टेक होल्डर’हरुको हातेमालो आवश्यक छ ।’ उनले कर्णाली प्रदेश प्रहरीले शुरु गरेको यात्रु सुरक्षा अभियान अन्तर्गत एकीकृत शिविर मार्फत .सडकमै स्वास्थ्य चेकजाँचसँगै यान्त्रिक परीक्षणले बढ्दो दुर्घटना न्यूनिकरण हुने विश्वास रहेको बताए । ट्राफिकले कर्णालीमा सवारी चेकजाँचमा कडाई गरेसँगै पछिल्लो सात महिनामा ट्राफिक नियम उलंघन गर्ने साढे २१ हजार सवारी साधनलाई कार्वाही गरि पौने दुई करोड रुपैयाँ राजश्व संकलन गरेको उनको भनाइ छ ।

यात्रुबाहक सवारीसाधन चलाउने चालकको स्वास्थ्य अवस्था, यात्रुबाहक सवारीसाधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्ने र समस्या वा खराबी देखिएमा उपचारात्मक पद्धतिमा जानको लागि सुझााव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख नेत्रबहादुर कँवरले बताए ।

उनले सवारी चालकले राम्रोसँग देख्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ, स्वयं चालकले चालाएको सावारीसाधनको अवस्था के छ भनेर चिकित्सकको टोली र प्राविधिकसहित स्वास्थ्य जाँच र सवारीसाधनको यान्त्रिक परीक्षण गराएको जनाए ।

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण र सवारी साधनको यान्त्रिक परीक्षण गर्नु असल कार्य भएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको भनाइ छ । ट्राफिक प्रहरीले यस्ता जनचेतनामूलक कार्यक्रम समय–समयमा सञ्चालन गर्दा सवारी दुर्घटना न्यूनीकरणका लागि अत्यन्त प्रभावकारी हुने उनले बताए ।

‘जनचेतनाको कारणले पनि हाम्रा युवाहरुको संरक्षण र नियम, कानुनभित्र बसेर सवारी चलाउन उत्प्रेरणा वृद्धि हुनेछ’, उनले भने । सवारीसाधन ठीक अवस्थामा छ कि छैन, मानव स्वास्थ्य पनि कस्तो अवस्थामा छ भन्ने कुरा जान्नुपर्ने बेला आएको उनको भनाइ थियो । भेरीगंगा नगरपालिका– १२, नम्वर वडाध्यक्ष्य रामबहादुर डाँगीले चालकहरुको स्वास्थ्य अवस्थामा समस्या हुँदा पनि सवारी दुर्घटना हुने हुँदा निःशुल्क स्वास्थ्य चेकजाँचसँगै सवारी साधनको यान्त्रिकी परीक्षणका लागि ट्राफिक प्रहरीले शिविर नै सञ्चालन गरेर उल्लेखनीय कार्य गरेको बताए ।

कर्णाली प्रदेश प्रहरीले शुरु गरेको यात्रु सुरक्षा अभियान अन्तर्गत एकीकृत शिविरले .सडकमै स्वास्थ्य जाँच हुने गरेकाले चालकहरु समेत खुसी देखिएका थिए । चेकजाँचले चालकलाई रिफ्रेस बनाउनुका साथै आफुले चलाएको सवारीसाधनको अवस्था र स्वयं चालकको स्वास्थ्यबारे जानकारी दिने कार्य राम्रो भएको सवारी चालक देवीलाल सापकोटाले बताए । ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्याे, तर आज सजिलो र छिटो बाटोमै स्वास्थ्य जाँचियो,’ चालक सापकोटाले भने, ‘यो राम्रो काम हो । यसलाई निरन्तरता दिए हामी आभारी हुने थियौं ।’’

दुर्घटनाबाट कतिपय मानिसको अकालमै मृत्यु र घाइते हुँदा आर्थिक, सामाजिकसँगै मनोवैज्ञानिक समस्याले विकासमा नकरात्मक प्रभाव पर्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चको ठहर छ । सडक दुर्घटना न्यूनिकरणका लागि तीनै तहका सरकारसँगै सम्बन्धित सरोकारवाला समेत बढी जिम्मेवार बन्न आवश्यक देखिएको राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले बताए ।

कर्णालीमा मापदण्डविना बनाइएका सडकहरु, अत्याधिक साँघुरा घुम्ती मोडहरु, सडक सुरक्षा, पूर्वाधार र सडक चिन्हको कमि, खाल्डाखुल्डी र पहिरोका कारण दुर्घटना वर्षेनी बढ्ने क्रममा रहेको भन्दै उनले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमि, स्रोत साधनको कम उपलब्धता, सडकको दुरावस्था एवं प्रविधि प्रयोगको अभाव लगायतमा विशेष ध्यान दिन सरोकारवालालाई सुझाव दिए । सवारी दुर्घटना न्यूनिकरणमा सामाजिक सचेतना फैलाउन समेत उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको आयोजनामा सञ्चालन भएको एकीकृत शिविर कार्यक्रमलाई भेरीगंगा नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेत, नेपाल रेडक्रस सोसाइटी सुर्खेत, छिन्चु स्वास्थ्य चौकी, मानसिक स्वास्थ्य तथा मरामर्श केन्द्र नेपाल सुर्खेत, सिप्रद्री टे«डिङ प्रालि, श्रीराम इन्टरप्राईजेज एण्ड अर्डर सप्लायर्स एवं बालाजु अटोवक्र्स प्रालि (अग्निग्रुप) सुर्खेतले सहयोग गरेका थिए ।

शिविरमा १ सय १२ जना चालकको आँखा परीक्षण, रक्तचाप परीक्षण, सवारी साधनको यान्त्रिक परीक्षण गरिएको थियो । यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएको एउटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिई तत्कालै नजिकैको ग्यारेजमा मर्मत गर्न पठाइएको थियो भने स्वास्थ्य परिक्षण गर्दा ३ जना चालकमा उच्च रक्तचाप देखिएको मध्ये एक जना चालकमा उच्च रक्तचाप र मधुमेहसमेत रहेको हुँदा अर्को सवारी चालक उपलब्ध गराइ पठाईएको थियो ।

 

Translate »