गुण एयरलाइन्सको सेवा बन्द

काठमाडौं । सन् २०२४ सम्ममा आन्तरिक उडानलाई विस्तार गर्दै ठूलो एयरलाइन्स सेवाप्रदायक बन्ने लक्ष्य राखेको गुण एयरलाइन्सको सेवा उडान सञ्चालन गरेको १७ महीनामै रोकिएको छ । कम्पनीले आर्थिक समस्या तथा कर्मचारीलाई पारिश्रमिकसमेत नदिएको र यसले उडान सुरक्षामा जोखिम बढ्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान गर्न रोक लगाएको हो । प्राधिकरणले सोमवार कम्पनीलाई पत्रचार गर्दै जहाज ‘ग्राउन्डेड’ गरिदिएको छ । कम्पनीले भने ५ दिनअघि नै उडान बन्द गरेको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पाइलट र चालक दलका सदस्यलाई पारिश्रमिक नदिएको पाइएपछि उडान सुरक्षाको गम्भीरतालाई ध्यान दिएर जहाज ग्राउन्डेड गरिएको बताए । ‘सोमवार जहाज ग्राउन्डेडका लागि पत्राचार गरिएको छ,’ निरौलाले भने, ‘कम्पनीले आर्थिक पाटो सुधार गरी प्राधिकरण विश्वस्त भएमा पुन: उडान अनुमति पाउनेछ ।’

कम्पनीले उडानका लागि प्राधिकरणलाई पत्रचार गरेपछि प्राधिकरणले मूल्यांकन गरेर मात्रै पुन: उडान अनुमति दिन सक्ने उनको भनाइ छ । गुण एयरलाइन्सले आगामी आइतवार/सोमवारदेखि नै उडान गर्ने तयारी गरेको जानकारी दिएको छ । कम्पनीका प्रवक्ता प्रज्वल थापाले दुईओटा बिचक्राफ्टबाट सोमवारसम्ममा पुन: उडान गर्ने जानकारी दिए ।

केही अघि आर्थिक समस्याका कारण कर्मचारीलाई पारिश्रमिक दिन केही ढिलाइ भएको भन्दै थापाले थपे, ‘अहिले समस्या छैन । जहाज पनि विक्री गर्दै छौं । मर्मतसम्भारपछि छिट्टै दुईओटा बिचक्राफ्टबाट नियमित उडान गर्नेछौं ।’ प्राधिकरणले जहाज ग्राउन्डेडका लागि पत्राचार गरे पनि जेट स्ट्रिम जहाजले ५ दिनदेखि उडान नभरेको थापाले बताए । ‘प्राधिकरणले दिएको निर्देशन पालना गर्दै आगामी सोमवारसम्ममा पुन: उडान शुरू गर्ने तयारी छ,’ थापाले भने । कम्पनीसँग जेट स्ट्रिम र बिचक्राफ्ट गरी सातओटा जहाज छन् । थापाका अनुसार बिचक्राफ्ट मर्मतसम्भारपछि यिनै जहाजबाट उडान गरिनेछ । कम्पनीले पाँचओटा जेट स्ट्रिम भने विक्री गर्ने बताएको छ । त्यसका लागि खरीदकर्ता विदेशी कम्पनी नेपाल आइसकेको उनको भनाइ छ ।

उनले केही समयपछि ठूला जहाज ल्याउने र सेवालाई निरन्तरता दिने पनि बताए । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्समा आर्थिक समस्या नयाँ होइन । सन् २०१३ मा पनि वित्तीय समस्याकै कारण उडान सेवाबाट कम्पनी बाहिरिएको थियो । सन् २००९ मा स्थापना भएको कम्पनी बन्द भएको र पुन: सन् २०२१ सेप्टेम्बर (२०७८ असोज १ गते) देखि उडान शुरू गरेको थियो ।

सन् २०१३ मा निजीक्षेत्रकै सिम्रिक एयरलाइन्सले गुण किनेको थियो । त्यसपछि ‘गुण’ ब्रान्ड हटेको थियो । काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुईओटा गन्तव्यबाट उडान शुरू गरेको यो कम्पनीले सेवा शुरू गरेपछि थप गन्तव्य– विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, तुम्लिङटार र सिमरामा उडान गर्दै आएको थियो । गुण एयरलाइन्स व्यवसायी राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण ग्रुपअन्तर्गतको कम्पनी हो । १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर पुन: आफ्नै ब्रान्डमा फर्किएको थियो । आर्थिक अभियान

Translate »