आयुर्वेदिक औषधी उत्पादनमा सहयोग गर्दै कर्णाली प्रदेश सरकार

फागुन १७, सुर्खेत । कर्णाली प्रदेशमै ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुने गरेका छन् । वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले उत्पादित गरेका औषधिहरू औषधालय र कर्णालीका अन्य जिल्लाका आयुर्वेद संस्थाहरूबाट निःशुल्क रूपमा वितरण गरिँदै आएको छ । यसरी उत्पादन हुने औषधिहरू बनाउन कार्यालयले कृषकहरूबाट सिधै जडीबुटी खरिद गर्ने गरेको छ ।

अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि २०७७ बाटै ती औषधि उत्पादन गरिरहेको बताएको छ । औषधि उत्पादनका लागि औषधालयलाई कर्णाली प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ । जसका लागि वार्षिक १० देखि १५ लाखसम्म बजेट प्रदेश सरकारले व्यवस्था गरिरहेको रहेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर शङ्कर रिजालले बताए । उनका अनुसार कर्णालीका किसानहरूबाट जडीबुटीहरू किनेर औषधि उत्पादन भइरहेको जानकारी दिए । कर्णालीमा उपलब्ध नभएका जडीबुटीहरू भने नेपालगन्ज, काठमाडौँ र भारतसम्मबाट ल्याउने गरिएको छ ।

यो वर्ष रहेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रलाई प्रदेश सरकारले ७ लाख रुपैयाँ दिएको छ  । अहिले स्रोतसाधन पर्याप्त नहुँदा कम मात्रै औषधि उत्पादन भइरहेको छ, डा.रिजाल भने, ‘बजेट र जनशक्ति पर्याप्त भए आयुर्वेद औषधिहरूको बजारीकरण गर्न सकिन्छ । उनका अनुसार औषधि उत्पादनका लागि कार्यालयकै जनशक्ति प्रयोग भइरहेको छ । आवश्यक स्रोत र जनशक्ति भए देशबाहिर पनि औषधि पठाउन सकिने रिजालले बताए । ‘यस्तो भयो भने करोडौँ पर्ने जडीबुटीहरूलाई कौडीको मूल्यमा बेच्न पर्दैन, उनले भने, ‘कर्णालीको आर्थिक कारोबार बढाउन पनि सहयोग पुग्थ्यो ।

अस्पतालमा दैनिक १ सय बिरामीसम्मले उपचार सेवा लिइरहेका उनले बताए । अन्य अध्ययन–अनुसन्धानका लागि पनि कार्यालयबाटै काम भइरहेको उनले बताए । प्रदेश अस्पतालले हाल ओ पी डि, ४४ प्रकारका आयुर्वेद औषधी निःशुल्क वितरण, प्रयोगशाला सेवा, क्षारसुत्र सेवा, पूर्वकर्म पञ्चकर्म सेवा बिहानी तथा दिवा सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवर्धन कार्यक्रम, स्तनपायी आमाका लागी निःशुल्क स्तन्यवर्धक औषधी वितरण सेवा, स्वास्थ्य जीवन जीवनशैली व्यवस्थापन, दैनिक योग ध्यान, जनचेतनामूलक कार्यक्रम तथा आयुर्वेद, जडीबुटी सम्बन्धी जनचेतनामूलक कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, सःशुल्क फार्मेसी सेवा सञ्चालन, फिँजियो थेरापी सेवा, अकुपंचर सेवा लगायत पन्ध्र प्रकारका सेवा दिइरहेको छ ।

केन्द्रबाट उत्पादित औषधीहरू

अनुसन्धान केन्द्रले हाल अवियतिकर चूर्ण, हिंवास्टक चूर्ण, आमलागि चूर्ण, सिनोपलादि चूर्ण, अश्वगन्धा चूर्ण, गुडुचि चूर्ण, त्रिफुला चूर्ण, अतृ चिया, पिडाहरू तेल, पित्तहर, च्यावनप्राश लगायतका ११ प्रकारका औषधी उत्पादन गर्दै आएको छ । यी औषधीहरू शास्त्रीय औषधीमा पर्दछन् भने शास्त्रीय विधिबाट निर्मित हुने गरेका आयुर्वेद अस्पताले जनाएको छ । यस्तै, स्रोत साधनको अभाव भएका कारण सरकारले थप सहयोग र ध्यान दिएमा शिलाजित प्रशोधन गर्ने सोच अस्पतालले जनाएको छ । (रेडियो नेपाल)

Translate »