रामघाट–दशरथपुर जोड्ने पक्की पुल : शिलान्यास भएको ७ वर्षपछि निर्माण कार्य शुरु हुँदै

करिब ३३ करोड लागतमा ठेक्का सम्झौंता

स्काई न्यूज /फागुन २०, सुर्खेत ।  मानव मात्रै होइन पूर्वाधार विकासका सूचकांकमा अन्य प्रदेशको तुलनामा त्यसै पनि पछि परेको कर्णाली प्रदेशका अधिकांश सडकहरु दुरावस्थामा भेटिन्छन् । कमजोर सडकहरुकै कारण प्रदेशले अकल्पनीय मानवीय क्षति व्यहोर्दै आएको छ । जसले गर्दा एकातिर राज्यको ठूलो मात्रा साधनस्रोत खेर गइरहेको छ भने अर्कातिर नागरिकले असहज र असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ ।

भेरीगंगा नगरपालिकाको, रामघाट र लेकबेसी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमाथि प्रस्तावित पक्की पुल त्यस्तै बेथितिको सिकार बनेको थियो । २०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका भौतिक तथा यातायात मन्त्री रमेश लेखकले यो पुलको शिलान्यास गरेका थिए ।

लेखकले शिलान्यास कार्यक्रममा भनेका थिए ‘अब छिट्टै तपाईंहरुका सुःखका दिन आउनेछन् । पक्की पुलले यहाँको विकासमा फड्को मार्नेछ । तपाईंहरुको जीवन सुरक्षित हुनेछ ।’ तर लेखकले भनेजस्तो भएन । स्थानीय बासिन्दाको त्यो सुखका दिन सात वर्ष बित्दा पनि आएनन ।

पक्की पुल बन्ने पक्का
तर, अहिले सडक डिभिजन कार्यालय सुर्खेतले भने रामघाट–दशरथपुर जोड्ने पक्की पुल निर्माण गरेरै छाड्ने बताएको छ । सडक डिभिजन कार्यालयका प्रमुख अविमन दास मुल्मीले ७ वर्षदेखि पुल निर्माण नगरेर आलटाल गर्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर कालो सूचीमा राख्न सिफारिस गरिसकिएको जनाए । उनले काम नगर्ने ठेकेदार कम्पनीबाट ब्याजसहित ५ करोड रुपैयाँ सरकारलाई तिर्नुपर्ने मागसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको बताए ।

‘कार्वाहीको मागसहित मुद्धा उच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ,’ उनले भने, ‘अदालतले नै अन्तिम फैसला गर्ने भएकाले धेरै बोल्न मिल्दैन् ।’ उनले काम नगर्ने ठेकेदार कम्पनी जेडसीजीआईईसी/आशिष जेभीलाई कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा सिफारिस समेत गरिएको जानकारी दिए । उनका अनुसार २०७६ माघमा पुल निर्माणको काम सक्ने गरी २३ करोड, ६२ लाख ६७ हजार ५ सय ९८ रुपैयाँमा जेडसीजीआईईसी/आशिष जेभीले जिम्मा लिएको थियो ।

१ सय ५४ मिटर लामो स्टिल ट्रष्ट ब्रिज फुटपाथबाहेक ७ मिटर चौडाइको बनाउने गरी सम्झौता भएपनि निर्माण कम्पनीले जग कमजोर देखाउँदै ‘डिजाइन रिभ्यु’ गर्न लगाएको थियो । सडक विभाग पुल महाशाखाले पुलको डिजाइन रिभ्यु गरेर दिँदा पनि फेरि निर्माण कम्पनीले विभिन्न बहानाबाजी गर्न थालेपछि ठेक्का तोडिएको उनको भनाइ छ ।

‘जेडसीजीआईईसी/आशिष जेभीले काममा लापरबाही गर्न थालेपछि बाध्य भएर ठेक्का तोडेर अर्को कम्पनीसँग पुल निर्माणका लागि ठेक्का सम्झौंता गरिसकेका छौं,’ उनले भने, ‘अनक कन्सटेक्सन प्रालिसँग ३२ करोड ६३ लाख १५ हजार ५ सय रुपैयाँमा गत माघ २५ गते तीन वर्षभित्रै काम सक्ने गरि सम्झौंता गरिसकेका छौं ।’

उनले अनक कन्सटेक्सन प्रालिले पुलको डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी लिएर कामको थालनी गर्न लागेको जानकारी दिए । उनका अनुसार बजेट अभाव नभएमा निर्माण कम्पनीले तोकिएको समयभन्दा पहिले नै काम सक्ने लक्ष्य लिएको छ । यद्यपि ! यस वर्ष पुल निर्माणका लागि हालसम्म २० लाख रुपैयाँ मात्र स्वीकृत भएको उनको भनाइ छ । उनले निर्माण कार्य छिट्टै शुरु गर्नका लागि थप रकम उपलब्ध गराउन विभागदेखि मन्त्रालयसम्म आवश्यक प्रक्रिया शुरु गरिसकिएको जनाए ।

झोलुंगे पुलको जोखिम कायमै
रामघाट–दशरथपुर जोड्ने झोलुंगे पुलमा सामान ढुवानी र ठूला सवारी साधन वारपार गर्न कठिनाइ भएपछि पक्की पुल निर्माणको योजना अघि सारिएको थियो । शिलान्यास भएको ७ वर्ष बित्न लाग्दासमेत पक्की पुल निर्माणको टुंगो लागेपनि अहिले आम नागरिकले सास्ती खेप्दै आईरहेका छन् । अहिले झोलुंगे पुल जीर्ण हुँदा वारपार गर्न समस्या छ ।

‘पक्की पुल लामो समयसम्म बनेन,’ स्थानीय धनबहादुर खत्री भने, ‘भएको झोलुंगे पुलका पनि तारहरु चुँडिएका छन्, सल्याबहरु पनि हल्लिएका छन ।’ पुल नबन्दा व्यापार–व्यवसाय गर्नेहरुलाई सामान ढुवानी गर्दा मेहलकुनामा रहेको पक्की पुलबाट घुम्नुपर्ने बाध्यता छ । आफूले उब्जाएका कृषिउपज बोकेरै रामघाट पु¥याउनुपर्ने बाध्यता भएको कल्पना बुढाले बताइन् ।

‘दैनिक १ हजार जनासम्म हिँड्ने झोलुंगे पुल कुन दिन गलयाम्म हुने हो भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘पक्की पुल नबन्दा गम्भीर अवस्थाका बिरामीलाई मेहेलकुनाबाट एम्बुलेन्समा लैजानुको विकल्प छैन ।’

Translate »