यातायात व्यवस्था कार्यालय चौरजहारीले आइतबारदेखि सेवा शुभारम्भ गर्दै

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा सेवा शुभारम्भ गरिँदै

स्काई न्यूज /फागुन २०, सुर्खेत । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी रुकुम पश्चिमले आफ्नो नियमित सेवा सञ्चालनमा ल्याउन लागेको छ । कार्यालयले अनलाईन (भीआरएस) सिस्टमबाट विलबुक नविकरण, सवारी दर्ता र नामसारी सेवा आईतवारदेखि सञ्चालनमा ल्याउनका आवश्यक सबै प्रक्रिया पुरा गरेको स्काई न्यूज दैनिकका प्रतिनिधिलाई जानकारी दिएको हो ।

चौरजहारीमा कार्यालय स्थापना भएको चार वर्षपछि सेवाग्राहीलाई नियमित सेवा दिन लागिएको छ । कर्मचारी अभाव देखाउँदै रोकिएको नियमित सेवालाई यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख आनन्द चपाई सरुवा भएर चौरजहारी कार्यालय पुगेपछि सेवाग्राहीका नियमित सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

अनुभवि र पाका कार्यालय प्रमुख चपाईले चौरजहारीबाट यातायात क्षेत्रका सेवा शुभारम्भ गर्नका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आउनु हुने कार्यक्रम रहेको जानकारी दिए । उनले सात जना कर्मचारीको दरबन्दी रहेको चौरजहारी यातायात सेवा कार्यालयमा हाल ३ जनाबाटै सेवा शुभारम्भ गरेपनि थप कर्मचारी आउने वित्तिकै (ईडीएलभीआरएस सिस्टम) शुरु गरिने बताए । उनका अनुसार प्रदेश सरकारले चौरजहारीमा प्राविधिक कर्मचारी पठाउने वित्तिकै (ईडीएलभीआरएस सिस्टम) शुरु हुनेछ ।

Translate »