भेरी–बबईलाई ढिलाई गर्ने छुट छैन्

देशका अन्य आयोजनाको तुलनामा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र पारिनु सुःखद पक्ष हो । देश आर्थिक मन्दीले सुस्त पारिरहेका बेला राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाले काम तीव्र पार्नु पक्कैपनि उत्साह जनक खबर हो । अब आयोजनाले निर्माणका नयाँ मूल्य मान्यता स्थापित गर्दै तोकिएकै समयमा सपन्न गर्ने गरि बाँकी कामलाई युद्धस्तरमा जुट्नु पर्छ । प्रायः देशी ठेकेदारको काम गर्ने शैलीप्रति आम जनसमुदायले त्यति भरोसा नगरिरहेको परिप्रेक्षमा विदेशी र स्वदेशी निर्माण कम्पनी मिलेर तोकिएकै समयमा काम सम्पन्न गर्न तीव्रता दिनु सराहनीय पक्ष हो । काम गर्न उत्प्रेरणा जगाउने कार्यका लागि आयोजना पक्षसँगै निर्माण कम्पनी, आम जनसमुदायको साथ, सहयोग र सर्मथनलगायतका पक्ष महत्वपूर्ण छन् । कोरोना महामारीले थला परेको अर्थतन्त्र तन्किँदै गर्दा फेरी आर्थिक मन्दी लगायत पक्षले ठूला आयोजनाहरु समेत अछुतो नरहेको वावजुद प्रतिरोधलाई चिर्दै भेरी–बबई आयोजना अघि बढेकोमा बधाईको पात्र छ ।यद्यपि ! सरकारले नै प्राथमिकता दिएका अर्थपूर्ण पूर्वाधारका आयोजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न तर्फ सबै पक्षको साथ सहयोग आवश्यक हुन्छ । त्यसका लागि सरकार, आयोजनाका कर्मचारीदेखि आम नागरिकको साथ, सहयोग रहेकाले निर्माण ठेकेदारको कुनैप्रकारको बहानावाजी स्वीकार्य हुँनु हुँदैन् ।

आयोजनाले तेस्रो चरणका हाइड्रोमेकानिकल इन्जिनियरिङसँगै इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको कामले गति लिन थालेको छ । सिभिलअन्तर्गत हेडवर्क्स, पावरहाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टको काम अघि बढ्नु सुःखद कुरा हो । भेरी नदीको पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम शुरु हुनु उत्साह थपेको छ । कामलाई जतिसक्दो छिटो सक्न एक दिन पनि नरोकी कामलाई निरन्तरता दिन जनशक्ति समेत बढाउनु पर्छ । आयोजनाको भौतिक प्रगतिसँगै वित्तीय प्रगति बढाउन सम्बन्धित पक्षले बढी मेहनत गर्नुपर्ने देखिन्छ । हालसम्म आयोजनाले ५९ प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाई सुविधा उपलब्ध गराउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । १२ किमि २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ ।

संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले तोकिएको समयभन्दा १ वर्ष अगावै टनेल बोरिङ मेसिन (टीबीएम)का सहायताले सुरुङ निर्माण गरिसकेको छ । बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/०८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लाखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ । अब सम्बन्धित आयोजना पक्षसँगै निर्माण कम्पनीले विभिन्न बहानामा यसअघि ‘ग्याप’ छुटेको समयलाई अहिलेदेखि नै तेजीले भर्न सक्नु पर्छ । आयोजना निर्माण कार्यलाई ढिलाई गर्ने छुट कसैलाई हुने छैन् । त्यसैले यो वा त्यो पक्ष नभनी सबै बहानाबाजी निस्तेज पारी रातदिन जुटेर तोकिएकै समयमा आयोजना सम्पन्न गरौं ।

 

Translate »