अवैध उत्खननमा संलग्न ५ वटा ट्र्याक्टर नियन्त्रणमा

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलासँग जोडिएको खेत (बगर) बाट अवैध उत्खननमा संलग्न ५ वटा ट्र्याक्टरलाई बर्दघाट नगरपालिकाले नियन्त्रणमा लिएको छ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्रप्रकाश उपाध्याय सहितका जनप्रतिनिधि र नगर प्रहरीको टोलिले खजुरा खोला अनुगमनका क्रममा अवैध उत्खनन् गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालयको सहयोगमा ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो । जथाभाबी रुपमा अवैध उत्खनन् भएको भन्ने आम गुनासो पछि नगरपालिकाले खजुरा खोलाको टेन्डर खुलाएको छैन ।

नदीजन्य पदार्थको व्यापक चोरी निकासी भएको गुनासो पछि यस पटकलाई खोलाको टेन्डर नखुलाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण रुपमा अवैध उत्खनन् रोक्नकालागी नगर प्रहरी समेत परिचालन गरिएको श्रेष्ठले बताउनु भयो । खजुरा खोलामा लुकिछिपी दिनदहाडै अवैध उत्खनन् हुने गरेको स्थानीयको भनाई छ।

आज करिब ११ बजेको समयमा जनप्रतिनिधि सहितको टोली खोलामा पुग्दा अवैध रुपमा संलग्न रहेको लु ४ त २५२३,लु ४ त २२१२,लु ३ त ६१५,लु ४ त ९०९४ र लु ३ त ३३६ नम्बरको ५ वटा ट्र्याक्टरलाई नियन्त्रण लिइएको हो । नियन्त्रणमा लिईएका ट्र्याक्टरहरूलाई ईलाका प्रहरी कार्यालयमा राखिएको छ।

यता निर्माण व्यवसायीहरूले भने नदीजन्य पदार्थको अभावमा विकास निर्माणमा असर परेको र परिस्थिति असहज बनेको बताउँदै आइरहेका छन् ।

Translate »