आर्थिक संकट समाधानका लागि साझा धारणा बनाईनु पर्छ : पूर्वअर्थमन्त्री पौडेल

सुर्खेत । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो समय मुलुकमा राजश्व संकलनको अवस्था साह्रै नाजुक मोडमा पुगेको प्रति चिन्ता व्यक्त गरेका छन् । उलने मुलुकको आर्थिक संकट समाधान गर्नका लागि दलहरुले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औल्याए । सुदूरपश्चिम प्रदेशको अछाम जाने क्रममा प्रेस चौतारी नेपालले आज सुर्खेत विमानस्थलको भीआईपी कक्षमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताए ।

राजश्वले साधारण खर्चसमेत धान्न नसक्ने यो निराशाजनक अवस्थाबाट बाहिर निस्कन सरकारले निजीक्षेत्रसँग सहकार्य गर्दै विदेशी लगानी भित्र्याउन गृहकार्य शुरु गर्नु पर्ने उनको भनाइ थियो । उनले यतिबेला दलहरु सत्ता भागभण्डाका लागि लुछातानी गर्नु भन्दा नागरिकलाई साथमा लिएर देशको आर्थिक अवस्था सुधार तर्फ केन्द्रित हुन आग्रह गरे । पत्रकारले सोधेको एक फरक प्रशंङ्गमा अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताउँदै उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरुप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।