‘कर्णालीमा वर्षभरि सहुलियत मूल्य पसललाई सरकारको सहयोग जरुरी’

स्काई न्यूज / चैत १५, सुर्खेत । कर्णालीमा वर्षभरि सञ्चालित सहुलियत मूल्य पसल प्रभावकारी बन्दै गईरहेका छन् । विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारीमार्फत कर्णालीका चार जिल्लामा सञ्चालित वर्षभरि सहुलियत मूल्य पसलले स्थानीय उत्पादनको समेत बजारीकरण गरेपछि प्रभावकारी बनेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सुपथ मूल्य सम्बन्धि समिक्षा गोष्ठीमा कम्पनीका विक्री वितरण विभागका विभागीय प्रमुख भिमबहादुर थापाले आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यका साथ सञ्चालनका ल्याईएका वर्षभरि चल्ने सुपथ पसलबाट विक्री मात्र नभई स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरणसँगै रैथानीबालीको संरक्षण गर्नु रहेकाले तीन तहका सरकारको अपनत्व हुनु पर्ने औल्याए ।
कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले हाल कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिममा सञ्चालित वर्षभरि सञ्चालन हुने सहुलियत मूल्य पसलहरु प्रभावकारी बन्दै गईरहेकाले निजीक्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्व बुझेर सुपथ मूल्यलाई सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित सानी भेरी जनप्रवाह कृषि सहकारी संस्थाका व्यवस्थापक मनोज ओलीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ७ प्रतिशत विक्री कमिशन दिएपनि ढुवानी भाडा महँगो हुँदा कठिनाई भईरहेकाले स्थानीय तथा प्रदेश सरकार समेत अनुदान दिनु पर्ने बताए ।

यसअघि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेशनमार्फत चाडपर्वका समयमा मात्र दैनिक उपभोग्य खाद्य वस्तु बजार भाउभन्दा कम मूल्यमा विक्री गर्दै आएको थियो । स्थानीय कृषि वस्तुको उत्पादन बढाएर रोजगारीसँगै निर्यातलाई प्रोत्साहन दिने उद्देश्यले कर्णालीका सबै पालिकामा कम्तिमा हाललाई एउटा भएपनि वर्षभरि सञ्चालन हुने सुपथ मूल्य पसल विस्तार गर्न लागिएको हो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन दिनेगरी पहिलो चरणमा सुर्खेतको रामघाटस्थित भेरी पशु तथा कृषि सहकारी, दैलेखको नारायण नगरपालिकास्थित शतप्रतिशत प्रगतिशील सहकारी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी जनप्रवाह कृषि सहकारी र जाजरकोटको जुनीचाँदे गाउँपालिकास्थित भैरीचाल्ने सहकारी मार्फत वर्षभरी चल्ने सुपथमूल्य पसल सञ्चालनमा आएका छन् ।