सडक बनाउने तर्फ ध्यान देऊँ !
पूर्वाधार अभावले पछाडी परेको पश्चिम सुर्खेतमा सडक अभाव पनि उस्तै छ । प्राकृतिक स्रोत साधनले भरिपूर्ण पश्चिम सुर्खेतले सडक अभावकै कारण थुप्रै आयोजना र अवसरहरु गुमाउनु परेको हो । पश्चिम सुर्खेतका नागरिकले उपयुक्त सडक नहुँदा कृषि तथा पशुजन्य वस्तुको निर्यात समेत गर्न पाएका छैनन् । सडक अभावकै कारण भौतिक पूर्वाधारका कामहरु समेत अघि बढ्न सकेका छैनन् । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको एक दुर्गम बस्तीमा विद्युतको पोल गाडियो तर बत्ती बलेन । विजुलीको तार टाँगिएको छ तर एक वर्षदेखि गाउँ अन्धकार छ । गाउँका घरघरमा वायरिङ पनि भइसकेको छ तर विद्युत् उत्पादन हुने खोलामा ट्रान्सफर्मर पु¥याउने सडक नहुँदा विद्युत् उत्पादन हुन सकेको छैन । ट्रान्सफर्मर गाउँमै थन्क्याइएको छ । गाउँमा खानेपानीको समस्या टार्नका लागि संघीय सरकारले करिब एक करोड २६ लाख रुपियाँको लागतमा वेतनखोली–रेक्चा–पुच्छ«म लिफ्ट खानेपानी आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । उक्त आयोजना वेतनखोलीको पानी लिफ्ट प्रविधिबाट ल्याउनुपर्ने हुन्छ तर विद्युत् नहुँदा सो आयोजना पनि अलपत्र छ । गाउँमा विद्युतको पोल र तार टाँगिए पनि ट्रान्सफर्मर पु¥याउन नसक्दा गाउँमा विद्युतीकरण हुन नसकेको हो ।
गाउँदेखि मुहानस्थल बेतनखोलीसम्म पुग्न करिब आठ किमि छ । सडक बनाउन ठेकेदार, सरकारी निकायलाई आग्रह गरिए पनि कुनै सुनुवाइ हुन नसकेको छैन् । ट्रान्सफर्मर मानिसले बोकेर लैजान नसकिने अवस्था छ । विद्युत् पूर्वाधार तयार भएपनि विद्युतको पोल र तार हेरेर चित्त बुझाउनु परेको छ । विद्युतको विकल्पका रुपमा सोलार प्रयोग गरिएको छ । खानेपानी आयोजना बनाउने ठेकेदारलाई सडक बनाउन आग्रह गर्दा आफ्नो लागतमा नपर्ने भन्दै पन्छिएको छ । सडक बनाउनुपर्ने भए ४० लाख थप गर्न माग राखेका छन् । रकमको जोहो गरी सडक बनाइदिन गाउँपालिका, प्रदेश सरकार र जिल्ला समन्वय समितिसमक्ष आग्रह गरिएको पनि सुनुवाई हुन सकेको छैन् । ट्रान्सफर्मर लगेर जोड्न नसक्दा लिफ्ट खानेपानी आयोजना पनि अलपत्र छ । आयोजनाका लागि विद्युत् आवश्यक पर्ने तर ट्रान्सफर्मर नै लिन नसकेपछि आयोजना त्यत्तिकै छ । त्यसैले पश्चिम सुर्खेतको विकास बाधक बनेको सडक पूर्वाधारका लागि त्यसक्षेत्रका नेताहरु समेत प्रभावकारी देखिएका छैनन् । सडक अभावलाई राजनीति मुद्धा बनाएर निर्वाचन आफ्नो पक्षमा पारेपनि विकासमा उनीहरुको ध्यान पुगेको देखिदैन् । जति नेता आयेंपनि कानै चिरिएका भने झै पश्चिम सुर्खेतका जनता आफुलाई भाग्यले नै ठगेको महसुस गरिरहेका छन् ।
बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकको ट्रयाक खुलेको तीन दशक नाघेको छ । ट्रयाक खुलेको यतिका वर्ष बितिसक्दासमेत सडक स्तरोन्नती र खोलामा पुल नबन्दा यात्रुहरुले बर्सेनि सास्ती भोग्दै आइरहेका छन् । वर्षाको उर्लंदो भेलमा यात्रुहरुले जोखिम मोलेर मोटरसाइकल र गाडी तारिरहेको दृश्य सामाजिक सञ्जालमा बर्सेनि छाइरहन्छन् । यस्ता दृश्य देख्नेका लागि सामान्य लागे पनि यात्रुहरुको पीडा बयान गरिसक्नुको छैन । भएका सडकको दुरावस्थाका कारणले पश्चिम सुर्खेत विकासमा पछाडि परेको हो । सडकले सास्तीमात्र दिएको छ्रैन, यसको दुरावस्थाले लज्जित पनि गराएको छ । सडक सुधारका लागि वषौंदेखि नागरिकले सरकारसँग अनुनय गर्दै आएको भएपनि ध्यान पुगेको छैन् । पश्चिम सुर्खेतका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन् । चौकुने गाउँपालिका हुँदै निर्माणाधीन बेतन कर्णाली जलविद्युत् आयोजनास्थल पुग्नुपर्छ । तर त्यहाँसम्म पुग्ने सडक र खोलामा पुल नहुँदा यात्रुले अनेक सास्ती भोग्दै आएका छन् । स्थानीय जनप्रतिनिधिदेखि त्यसक्षेत्रबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्ने नेताहरुले नागरिकले अनाहकमा भोग्नु परेको दुःखकष्टबाट मुक्तिका लागि योजनाबद्ध विकासलाई बढाउनु पर्छ । सडक विस्तार मात्र होइन, गुणस्तरीय बनाउने तर्फ पनि नेताको विशेष ध्यान पुग्नु नै पर्छ ।