भेरी करिडोरमा एकैपटक तीन पक्की पुल बन्दै

डोल्पा । भेरीकरिडोरको जाजरकोट–डोल्पा सडक खण्डमा एकैपटक तीनवटा पक्की पुल बन्ने भएका छन् । सडक विभाग अन्तर्गतको पुल महाशाखाको ३६ करोड २४ लाख ८६ हजार सातसय लागतमा तीनवटा पक्की पुल बन्ने भएका हुन् । सडकखण्ड अन्तर्गत पर्ने जाजरकोट जिल्लाको नलगार्ड नगरपालिकामा पर्ने तल्नुबगर भेरी नदीमा,डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने छलगार्ड खोला र सोही नगरपालिकामा पर्ने खदाङ्ग हरियापानी भेरी नदीमा पुलबन्न लागेको क्षेत्रीय पुल महाशाखा सुर्खेतका प्रमुख अभिमानदास मुल्मीले जानकारी दिए ।

टेण्डर भएरपनि वाइपीएमआर जेभीले निर्माणको जिम्मा पाइसकेकाले छ महिना भित्र निर्माणको काम सुरु हुने उनको भनाई छ । पुल महाशाखा र निर्माण कम्पनी वीच २०७९ साल १० महिना २६ गते सम्झौता समेत भइसकेकाले ४२ महिना भित्र तीनवटै पुल निर्माणको काम सक्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । यता कार्ड कन्सल्टेन्ट आएर सर्भे बबरमहलका सिनियर सर्भेएर चिरञ्जिबी आचार्यका अनुसार पुल बन्ने तीन स्थानको डिटेल सर्भे,माटो परीक्षण लगायतका काम सम्पन्न भइसकेकाले छ महिना भित्र महाशाखलाई रिपोर्ट दिने बताए ।

उनका अनुसार तल्नुबगरमा एक सय मीटर लामो,खदाङ्गमा असी मीटर लामो र छलगार्डमा चालीस मीटर लामो पक्की पुल बन्ने छन् । तत्कालका लागि नेपालगञ्ज,सुर्खेतबाट आउने सवारीसाधन सिधा वारपार गराउनका लागि तल्नुबगरमा बेलिब्रिज बन्दै छ भने खदाङ्ग हरियापानीमा बेलिब्रिज सञ्चालनमा आइसकेको छ । त्यसैगरी छलगार्ड खोलमा पनि बेलिब्रिज पुल नहुँदा हिँउमा खोला घटेको समयमा सवारीसाधन वारपार सहजै भएपनि बर्षातको समयमा खोला बडेर खोला वारीनै सवारीसाधन रोकिने गर्दछन् । यस बाहेक भेरीकरीडोर अन्तर्गत पर्ने चौखा, गोतामकोट, करोपगार्ड, चुँगार्ड लगायतका दर्जन धेरै ठाउँमा पक्की पुल बनाउन बाँकी रहेको छ भने केही स्थानमा बेलिब्रिज मार्फत सवारी आवागमन गराइएको छ ।

Translate »