जडिबुटीबाटै समृद्धि खोजौं

रसायनिक औषधिको कुप्रभावका कारण आतिएर निराश भएका विश्वका विकसित मानिएका पश्चिमी देशका मानिसहरु समेत अहिले जडिबुटीहरुको प्रयोग गर्न थालेका छन् । रसायनिक चिकित्सा पद्दतीमा असाध्य (निको नहुने) मानिएका विभिन्न रोगहरुबाट मुक्ति पाई जीवनदान पाएका कारण आज आएर प्राचिन पूर्वीय संस्कृतिको धरोहरको रुपमा रहेको आयुर्वेद चिकित्सातर्फ मानिसको आर्कषित हुनु स्वाभाविक हो । कर्णालीका विभिन्न वनजंगल तथा पाखा पखेरामा विभिन्न किसिमका अतिगुणकारी भण्डारका रुपमा जडिबुटीहरु रहेका छन् । यस्तो गुणकारी जडिबुटीको सहि पहिचान र उपयोग हुन सकेको खण्डमा प्रदेशले स्वास्थ्य क्षेत्रमा अरुको मुख ताक्न नपर्ने मात्र नभइ जडिबुटी तथा तयारी औषधिको निर्यातबाट मुद्रा आर्जन गर्न सक्छ । त्यसबाट कर्णालीलाई मात्र होइन, पुरा राष्ट्रलाई नै आर्थिक योगदान पु¥याउन सकिने देखिन्छ । प्रदेश सरकारले उपयुक्त नीति निर्माण तथा कार्यान्वयन गरी दक्ष जनशक्तिबाट गर्ने र जनचेतना अभिबृद्धि गराउन सकेको खण्डमा आफ्नै घर वरिपरीका जडिबुटीको प्रयोगबाट जनतालाई स्वास्थ्य सेवा सस्तो र सुलभ रुपमा उपलब्ध गराउन सक्छ । यसले प्रदेशलाई स्वास्थ्य क्षेत्रमा पर्ने आर्थिक भार स्वतः कम हुनेछ भने अर्कोतर्फ पर्यावरणीय असन्तुलनबाट भुक्षय र वातावरण प्रदुषण (वायुप्रदूषण) हुन्छ ।

अधिकांश खाली जमीन वर्षेनी माटो, बालुवा बगेर गई कति स्थानहरु बाढीको चपेटामा परिरहेका छन् भने माथिल्लो सतहको मलिलो माटो खेर गई माटोको उर्वरा शक्ति हराउँदै जाँदा अरु स्थान क्रमशः नाङ्गा भइ मरुभूमि नबन्लान भन्न सकिन्न । त्यस्ता खाली जमिनमा जडिबुटि रोप्न सकेको खण्डमा माटोको उर्वरा शक्ति कायम रहनुका साथै हरिया वनस्पतिले अत्याधिक मात्रामा अक्सिजन उत्सर्जन गर्ने र तिनमा भएको विशिष्ट प्रभावले वातावरणमा भएका किटाणुलाई पनि मार्ने भएकोले वातावरणलाई पनि प्रदूषित हुन बचाई पर्यावरणीय सन्तुलन राख्न ठूलो योगदान पुग्न जान्छ । जसले नयाँ पुस्तालाई स्वच्छ र सन्तुलित पृथ्वी हस्तान्तरण हुनेछ । आजको युग भनेको आर्थिक युग हो । यस युगमा अर्थ बिना जीवन अधुरो छ । राष्ट्रका जनताको दीर्घकालीन आयस्रोत हुन नितान्त आवश्यक छ । अहिले कर्णालीमा पर्याप्त पूर्वाधार विकास कार्य सञ्चालन गर्न यथेष्ठ दीर्घकालीन राजश्व (आय) को स्रोत सरकारसँग पनि छैन र जनतासँग पनि छैन् । यसले गर्दा प्रदेश अविकसित गरिब बन्न पुगेको हो । प्रकृतिक सम्पदाले धनी भएर पनि यहाँका योजनाकारहरुको गरिब मानसिकताले गर्दा गरिब नभई अव्यवस्थित बन्न पुगेको छ । प्रदेशका विभिन्न प्रकृतिक स्रोत मध्ये जडिबुटीको ठूलो महत्व छ । व्यवस्थित उपयोगको सोच प्रदेशसँगै स्थानीय तहले बनाएको खण्डमा सबैलाई आर्थिक रुपमा समुन्नत बनाउन सक्छ । अति महत्वपूर्ण जडिबुटीहरु वर्षेनी हजारौं टनको परिणाममा या त कुहिएर सडेर गएका छन् या सस्तो दाममा वा सयौं जडिबुटीहरु अवैध रुपमा चोरी निकासी भएका छन् ।

जडिबुटीबाट न त जनताले आर्थिक फाइदा लिन सकेका छन्, न त प्रदेश सरकारले नै लिन सकेको छ । तर व्यवस्थित ढंगले यहाँका सामुदायिक वनहरुमा यस्ता जडिबुटी संकलन प्रशोधन गरी विभिन्न औषधी निर्माण गरेर निर्यात गर्न सकेको खण्डमा राजश्वमा बृद्धि मात्र नभइ वर्षेनी बाहिरी देशबाट औषधि आयत गर्दा विदेशीने मुद्रालाई समेत रोक्न सकिन्छ । जडिबुटी संकलन, प्रशोधन गर्ने काममा ठूलो संख्यामा रोजगारीका अवसरहरु प्राप्त हुने हुदाँ स्थानीय तहमा हाल विकराल समस्याको रुपमा देखिएको बेरोजगारीको समस्या कम मात्र होइन, राष्ट्रिय समस्याको दीर्घकालीन समाधान हुन सक्छ । भौगोलिक तथा जैविक विविधताले भरिएको कर्णालीमा हजारौं पर्यटकहरु दृष्य अवलोकन गर्न आउँछन । यदि खाली तथा नाङ्गा स्थानहरुमा विश्वबाट लोप हुन लागेका र खेती योग्य जडिबुटी तथा स्थानीय जडिबुटी रोपी हरियाली बढाउन सकेको खण्डमा ठूलो मात्रामा विदेशी मुद्रा मात्र हात पार्ने नभइ प्रदेशबासीको जीवनस्तरमा अझै बृद्धि हुने निश्चित प्रायः छ । बहुउपयोगी जडिबुटीहरुको महत्वलाई ध्यानमा राखी सबैले आफ्नो संस्कृती र परम्परालाई कायम राख्दै आफ्नै घर वरीपरी खेर गइरहेका बहुमुल्य जडिबुटिहरुको संरक्षण, संवद्र्धन र उचित प्रगोय गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी बनी गौरवान्वित हुनु आजको आवश्यकता हो ।

Translate »