खाद्यले कर्णालीको चिनो र कागुनो चामल बेच्न थाल्यो

बैशाख ६, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीको रैथाने उत्पादन चिनो र कागुनो चामल बेच्ने भएको छ । कम्पनीले हुम्लाका सिमीकोट र अदानचुली गाउँपालिका तथा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका, दार्चुलाको अपी हिमाल, ब्यास र मालिकार्जुन गाउँपालिकासँग स्थानीय उत्पादन खरिद गरी बेच्ने सम्झौता गरेको छ । सम्झैता अनुसार नै किसानको उत्पादन चिनो, कागुनो, फापर, सिमी उपभोक्तालाई बेच्न लागिएको खाद्यले जनाएको छ ।सम्झैतापश्चात खाद्यले चिनो १२३८ केजी, कागुनो ६० केजी, फापर १९०५ केजी र सिमी १३१८ केजी खरिद गरिसकेको छ । पहिलो लट अर्न्तगत उपत्यका भित्रिन सुरु भएकाले बुधबारदेखि बिक्रीको तयारी रहेको खाद्यले जनाएको छ । ‘कर्णालीको रैथाने उत्पादन उपत्यका भित्रिएसँगै चिनो, कागुनो चामल र फापर फ्याकिङ गरी बिक्रीको लागि तयारी अवस्थामा राखेका छौं’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले भने ।

रैथाने उत्पादन बिक्री हुँदा किसान पनि उत्साहित हुने र उत्पादन बढाउनतिर लाग्ने थापाले बताए । जसले उत्पादन नै बढ्ने उनको भनाइ छ । खाद्यले चिनो चामलको बिक्री मूल्य प्रतिकिलो २ सय ६० रुपैयाँ, कागुनो चामलको प्रतिकिलो २ सय ६० रुपैयाँ, फापर प्रतिकिलो १ सय ५० रुपैयाँ राखेको छ । त्यस्तै, सर्वसाधरणले न्यूनतम २ हजार ५ सय रुपैयाँको सामान खरिद गरे निशुल्क होम डेलिभरीको सुविधा रहेको कम्पनीले जनाएको छ । (इकान्तिपुर)

 

Translate »