सुर्खेतमा ट्राफिक चेकजाँच तीव्र
स्काई न्यूज / सुर्खेत । ट्राफिक प्रहरीले सुर्खेतमा संध्याकालिन सवारी चेकजाँच तीव्र पारेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ४ सय ५६ जनालाई कार्वाही गरि १४ लाख ५६ हजार रुपैयाँ राजश्व संकलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।
यस अवधिमा ट्राफिक नियम उलंघन गर्ने ३२ हजार ६ सय ४६ वटा सवारी साधनलाई कार्वाही गरि २ करोड ५५ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयका ट्राफिक प्रहरी निरीक्षक भिमबहादुर खड्काले जानकारी दिए । उनले संध्याकालिन (पीक आवर) मा ट्राफिकले सुरक्षित आवागमन एवं व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले पैदल गस्तीसँगै चेकजाँचमा कडाई गरिएको बताए ।
ट्राफिक सम्बन्धि कुनै जानकारी तथा आवश्यक सूचना दिनु/लिनु परेमा चौवीसै घण्टा कर्णाली प्रदेश भरीका लागि (हटलाईन) टोल फ्रि १०३ नम्वर सञ्चालनमा ल्याईएको उनको भनाइ छ । ट्राफिक निरीक्षक खड्काले ठूलो स्वरमा आवाज अर्थात स्वरुप परिवर्तन (मोडिफाइ) गरेका मोटरसाइकल चलाउनेलाई समेत नियन्त्रणमा लिएर कार्वाही अभियान शुरु गरिएको जनाए ।
उनका अनुसार संध्याकालिन समयमा हुने दुर्घटनामा प्रायः मादक पदार्थ सेवन गरेकाबाट बढी हुने गरेको पाईएपछि सवारी चेकजाँचसँगै पैदल गस्ती गर्नु परेको हो । उनले दिनप्रति बढ्दो सवारी साधनको चापसँगै दुर्घटना बृद्धि हुन थालेपछि ट्राफिक सचेतना, सवारी चेकजाँच तथा बजार क्षेत्रमा पैदल गस्ती अभियानलाई तीव्रता दिइएको बताए ।