सरकारले गर्यो ३३ ठेकेदारको लाइसेन्स खारेज, ‘क’ र ‘ख’ वर्गका कम्पनी पनि खारेज


काठमाडौं । सरकारले क र ख वर्गका १/१ सहित ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो ।
लाइसेन्स खारेज हुनेमा क वर्षको पृथ्वी नेपाल कन्स्ट्रक्सन र ख वर्गको टौदह कन्स्ट्रक्सन कम्पनी रहेका छन् ।
मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम ती निर्माण व्यवसायीको इजाजतपत्रहरु स्वतः खारेज भएको जनाएको हो ।

यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको थियो । तर सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ । आर्थिक अभियान
हेर्नुहोस लाइसेन्स खारेज भएका कम्पनीहरू


