नेपालले निर्यात गर्‍यो साढे १३ करोडको चिउरा, सबैभन्दा धेरै अमेरिकामा, ‘किलोकै ४७० रुपैयाँ’

 

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १३ करोड ६२ लाख रुपैयाँ बराबरको ३ लाख ७८ हजार २२२ किलो चिउरा निर्यात गरेको छ । नेपालले निर्यात गरेको चिउराको औसत मूल्य प्रतिकिलो ३६० रुपैयाँ छ ।

भन्सार विभागको तथ्याकं अनुसार गत वर्षको सोही अवधिमा नेपालले ११ करोड ६३ लाख रुपैयाँ बराबरको ३ लाख ६० हजार ४४० किलो चिउरा निर्यात गरेको थियो । गत वर्षको सोही अवधीमा चिउरा निर्यात मूल्यमा १७ प्रतिशत र परिमाणमा ४ प्रतिशतले बढेको छ ।

नेपालले चिउरा अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, भारत, इटाली, जापान, कोरिया, मलेसिया, युनाइटेड किंगडम, अमेरिका लगायतको देशमा निर्यात गर्दै आएको छ ।

यो ९ महीनामा नेपालले सबैभन्दा धेरै चिउरा अमेरिका निर्यात गरेको छ । यस अवधीमा अमेरिकामा मात्रै ७ करोड ३२ लाख रुपैयाँबराबरको १ लाख ५५ हजार ९७० किलो चिउरा निर्यात गरेको छ । जुन प्रतिकिलो ४७० रुपैयाँका दरले निर्यात भएको देखिन्छ ।

त्यसैगरी, अष्ट्रेलियामा ३ करोड ४३ लाख रुपैयाँ बराबरको १ लाख ७८६ किलोग्राम र इटालीमा १ करोड ३ लाख रुपैयाँ बराबरको २८ हजार ५८६ किलो चिउरा निर्यात गरेको छ । अष्ट्रेलियामा प्रतिकिलो ३४० र इटालीमा प्रतिकिलो ३६० रुपैयाँका दरले निर्यात भएको भन्सारको तथ्याङ्क छ । आर्थिक अभियान दैनिक

Translate »