पश्चिम सुर्खेतको सडक–सास्ती हटाऊँ !

सुर्खेतमा अहिले सबै भन्दा बढी सास्ती जिल्लाको पश्चिम क्षेत्रका नागरिकले भोग्नु परिरहेको छ । पक्की सडक अभावमा सामान्य पानी पर्ने वित्तिकै ओहर–दोहर गर्ने नागरिकले धेरै दुःखकष्ट उठाउँदै आएका छन् । मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत पश्चिम सुर्खेत सडकखण्डको बड्डीचौर–गुटु–बेनीघाटखण्ड पक्की सडक निर्माणमा ठेकेदार कम्पनीले ढिला सुस्ती गरेपछि नागरिकले झन धेरै सास्ती भोग्नु परेको हो । सडकले दिएको सास्ती तर्फ त्यस क्षेत्रबाट राजनीति प्रतिनिधित्व गर्ने नेताहरुको घैटोमा अझैपनि घाम लागेको छैन् । उनीहरु अहिले पक्की सडक अभावले दुःख पाईरहेका पश्चिम सुर्खेतका जनताका पीरमर्का बुझ्न त्यहाँ पुग्न सक्ने हैसियत राख्दैनन् । उनीहरु आफैले निर्वाचनताका जनता सामु गरेका बाचा र प्रतिवद्धता पुरा नगर्दा शर्मले मुख छोप्न सकेका छैनन् । तर, कतिपय लाज नमान्ने र लाज पचेकाहरुलाई आफ्नो स्वार्थ पुरा भएपछि दुनिया भाँड गएपनि के फरक पर्छ र ? । त्यति मात्र कहाँ हो र, निर्वाचनताका भोट हाल्न लगाउने उनका पिछलग्गु कार्यकर्ता नै नागरिकले पाईरहेको दुःखप्रति सहनुभूति प्रकट गर्न सक्दैनन् । उनीहरुले दिन सक्ने भनेको निमुखा जनतालाई निर्वाचनताका मासु, रक्सी र विभिन्न प्रलोभन मात्र हो ।

अहिले लाज र शर्मको पानीले विगारेको बड्डीचौर–खम्वागाडे सडकखण्ड स्तरोन्नतीका क्रममा खनिएको माटो हिलाम्य हुँदा गाडी गुड्न त के पैदल हिड्न नसक्ने अवस्था सृजित पारिएको छ । जनतालाई सुविधा दिन बनाइएको सडकले झन् सास्ती दिएको छ । सडकमा घाम लागे धुलाम्मे र पानी परे हिलाम्य हुन्छ । अनगिन्ती खाल्डाखुल्टी छन् । बड्डीचौरदेखि खम्बागाडेसम्मको १२ दशमलव ३ किलोमिटरको काम ठेकेदारको लापरवाहीले अहिले अलपत्र परेको छ । ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी जयदेवीले विभिन्न बहाना बनाउँदै हालसम्म ७ प्रतिशत मात्र भौतिक प्रगति गरेर फरार भएको हो । सत्ताधारी राजनीति दलको आवरण ओढेको जयदेवीले २०८१ असार मसान्तसम्म सडक निर्माण गर्नुपर्ने कार्यादेश पाएको छ । गएको साउन ५ गते भव्य तामझामका साथ कर्णाली प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले डोजर चलाएर निर्माण शुभारम्भ गर्नु भएको थियो । अहिले यो सडकको हरिविजोग देखेर यस क्षेत्रका नागरिक आफ्नै भाग्यलाई दोष दिईरहेका छन भने बुढाक्षेत्रीलाई अफसोस स्वभाविक हो ।

तीन दशक अघि ट्¥याक खोलिएको यो सडकखण्डमा गाउँका कुनाकप्चासम्म कच्ची सडक सञ्जालसँग जोडिएका छन् । तर, यसरी गाउँसम्म खोलिएका ग्रामीण सडकहरुको स्तरोन्नती समयमा नगरिँदा सवारी चालक, यात्रु र स्थानीयले दैनिक सास्ती भोग्नु परेको हो । यस क्षेत्रबाट राजनीति गर्नेहरु आफु बनेपनि नागरिक र आफ्नो क्षेत्र बनाउने तर्फ कहिल्यै सोचेनन् । बरु सोझासादा नागरिकलाई विभिन्न प्रलोभन र भ्रम सृजत गरि आफ्नो राजनीति रोटी सेक्ने काम बाहेक अरु केही गरेनन् । प्राकृतिकरुपले भरिपूर्ण भएपनि पूर्वाधार विकास अभावसँगै गरिवी, अशिक्षाले पछाडि पारिएको पश्चिम सुर्खेतमा दलहरुले निर्वाचनताका कायाकल्प नै बद्ल्ने प्रतिवद्धता जनाएपनि आसेपासे कार्यकर्ता पोस्ने बाहेक कुनै काम गर्न सकेका छैनन् । जनतालाई विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन नसक्दा अहिले विभिन्न सामाजिक सञ्जालदेखि पश्चिम सुर्खेतका चोकचौराहासम्म गुनासा मात्रा होइनन्, भाँटे गालीसमेत र्छप्रस्ट देख्न र सुन्न सकिन्छ । कैलाली र डोटीलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसँग जोड्ने बड्डीचौर–गुटु–बेनिघाट सडक निर्माण सुरु भएको साढे तीन दशक बिति सक्दापनि सडकको स्तरोन्नती नहुँदा आर्थिक मात्र होइन, सामाजिक रुपले समेत क्षती व्यहोर्नु परेको हो । यति महत्वपूर्ण पूर्वाधारको स्तरोन्नतीलाई सरकारले कति पनि प्राथमिकतामा राखेको छैन् ।

मदन भण्डारी राजमार्ग आयोजनाले चौकुने गाउँपालिकाको गुटु खोला, पञ्चपुरी नगरपालिकाको विजु खोला र बराहताल गाउँपालिकाको व्यूरेनी खोलामा तीन वर्षदेखि पुल बनाउन बजेट विनियोजन भइरहे पनि ठेक्का सम्झौता अनुरुप काम भएको छैन् । सडक चौडा पार्ने र कालोपत्र गर्ने काम पनि उही हालतमा छन् । यो ढिलासुस्तीले पश्चिम सुर्खेतको चौतर्फी विकासलाई नै अवरुद्ध तुल्याइरहेको छ । लामो प्रतीक्षापछि बन्न लागेको सडक तोकिएको समयमा नबन्दा ढुवानीको कठिनाइका कारण चर्को महँगी अविराम छ । महँगीको मार एकातिर छ, अर्कातिर आफ्नै स्थानीय उत्पादनलाई पनि बजार पु¥याउन मुस्किल परिरहेको छ । पक्की सडक नबन्दा त्यहाँका बासिन्दाको समग्र आर्थिक गतिविधि फैलिन सकेकै छैन् । सम्झौता अनुसार कामै नगर्ने ठेकेदारलाई कार्वाही नगरि सामान्य स्पष्टीकरण सोधेर उन्मुक्ति दिने गरिएको छ । ठेकेदारलाई दोष दिएर सरकारलाई पन्छिन सजिलो भएपनि ठेकेदार छनोट गर्नेदेखि काम लगाउनेहरु विफलप्रायः देखिएका छन् । राजनीतिक नेतृत्व र विकास प्रशासकहरुसम्म यसप्रति जवाफदेह बन्नुपर्छ । अब कुनैपनि बहानामा ढिलासुस्ती नगरी प्रदेश र संघीय सरकारसँगै स्थानीय नागरिकले समेत खबरदारी गर्दै पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएका सडकलगायत पूर्वाधारका कामहरु तोकिएकै समयभित्र सम्पन्न गराउन तर्फ जुटौं ।

 

Translate »