२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

पत्रपत्रिकामा खानेकुरा प्याक गर्न प्रतिबन्ध



काठमाडौं । सरकारले तयारी खाना तथा खाजाका परिकार पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि असर पार्ने रसायन प्रिन्टेड पत्रपत्रिकामा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम थालिएको बताइन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फूडको उपयोग बढ्दै गइरहेको तर स्वच्छता ल्याउन सरकारले पत्रपत्रिका प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् ।

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । ‘केही सस्तो र मिठो खाजाको रुपमा स्ट्रिट फुड राम्रो विकल्प हो ’ उनले भनिन् ‘तर स्ट्रिट फुड प्वाइजनिङ हुनुभएन, पत्रपत्रिकामा प्याक गर्दा प्वाइजनिङ हुन्छ, यसमा सुधार गर्नु अत्यन्तै जरुरी छ ।’

चटपटे, पानीपुरी लगायत अन्य तयारी परिकार पत्रपत्रिकाकामा प्याक गरेर खाने चलनलाई तुरुन्तै हटाउनुपर्ने उनले बताइन् । प्रिन्टेड पेपरमा खानेकुरा राख्दा विष मिसिने भएकाले नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने जोशीले बताइन् ‘पहिले सचेतना बढाउने र क्रमशः प्रतिबन्ध लगाएर खाद्य ऐन बमोजिमको बाटोमा लाग्नुपर्ने देखिन्छ’उनले भनिन् । (इकान्तिपुर)

प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार
Translate »