सरकारले क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने

काठमाडौँ । सरकारले एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र राष्ट्रिय क्रिकेट टिमका अफिसियलहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन्।

सरकारका प्रवक्ता शर्माले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकता दिने निर्णयसमेत गरेको जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २४ गते संसद् बैठक आव्हानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले विज्ञापन ऐन अन्तर्गत एकद्वार प्रणाली र समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन विज्ञापन नियमावली निर्माणको प्रक्रिया अघि बढाउने निर्णय भएको सरकारका प्रवक्ता शर्माले जानकारी दिए।

हिजो (मङ्गलवार) र आज भएको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता शर्माले मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भूमिहीन तथा भूकम्पबाट विस्थापितका लागि जग्गा व्यवस्थापन भइसकेका लाभग्राहीका लागि आवास निर्माणको कार्य आगामी २०८० असार मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले कोभिड–१९ को संकट व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्बाट फिर्ता लिने, वनस्पति विभागका महानिर्देशक डा।राधा वाग्लेको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको छ । रेडियो नेपाल

Translate »