कर्णालीमा बेल फलको महत्त्व नबुझ्दा खेर जाँदै


सुर्खेत । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा अहिले वनमै झरेर खेर गइरहेको छ । चुरे क्षेत्रका वनमा जताततै पाइने बेल फलको प्रचारप्रसारसँगै यसको महत्वका बारेमा जानकारी नहुँदा जंगलमै खेर गईरहेको हो । कर्णालीका सुर्खेत, दैलेख, सल्यान र जाजरकोट जिल्लाका प्राय सबै वनहरुमा पाईन बहुउपयोगी बेल फलको महत्वबारे प्रदेश सरकार नै अनविज्ञ हुँदा जंगलमा खेर गईरहेको छ ।
जंगली जनावरको आहाराको रुपमा प्रयोग हुँदै आएको बेलको फल प्रशोधन गर्न सके यसबाट रोजगारी समेत सृजना हुने सुर्खेत चौकुनेका स्थानीय काशीराम देवकोटा बताउँछन् । उनले सरकारी स्तरबाट बेल फलको महत्व नबुझ्दा हरेक वर्ष वनमै कुहेर जाने गरेको जनाए । उनका अनुसार आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल गाउँघरमा स्थानीयले दाउरा र सोत्तरका रुपमा प्रयोग गर्दै आईरहेका छन् ।
प्रदेश आयुर्वेद चिकित्सालय तथा अनुसन्धान केन्द्र सुर्खेतका डाक्टर शंकरप्रसाद रिजालले बेल पेट दुखेका बेला, आउँ परेका बेला, पित्त रोगको संक्रमण भएमा, झाडापखाला लागेमा, अजीर्ण भएमा, दमको रोग भएमा, दाँतको गिजाको रोग लागेमा, बान्ता रोक्न र रुघा खोकी लागेमा निकै उपयोगी औषधिका रुपमा प्रयोग हुने गरेको बताए । उता सुर्खेतको छिमेकी जिल्ला जाजरकोटको भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ ।
भेरी नगरपालिकाका–१०, ११, १२ नम्वर वडाहरुमा बेलका रुख प्रशस्त रहेका छन् । बेलको प्रयोग धार्मिक अनुष्ठान र यसको फलको रस मानव स्वास्थ्यका लागि अचुक औषधिका रुपमा रहेको भए पनि धेरैलाई यसबारे जानकारी नहुँदा नासिँदै गएको छ । जंगली जनावरको आहाराको रुपमा प्रयोग हुँदै आएको बेलको फल प्रशोधन गर्नुपर्नेमा भेरीगंगा नगरपालिकाका स्थानीयवासी पदमबहादुर बुढा औल्याए । ‘सामुदायिक वनका उपभोक्ताको आयस्तरमा वृद्धि गर्न सकिने हुन्छ,’ उनले भने ।

जुनसुकै ठाउँमा पनि बेलका बिरुवा हुर्कन सक्ने भएकाले वनको बाँझो जग्गामा यसको बिरुवा रोप्नुपर्ने उनको भनाइ छ । बुढाका अनुसार केही वर्ष अघि स्थानीय महिला समूहले बेल प्रशोधन गरी बेलको जुस उत्पादन गरि विक्री वितरण गरिएपनि उचित तालिम र आर्थिक स्रोत अभावमा उत्पादन र विक्री वितरण रोकिएको थियो । त्यसपछि सम्बन्धित निकायले चाँसो नदिँदा बेल जंगलमा खेर गइरहेको छ ।
वन डिभिजन कार्यालय जाजरकोटका कार्यालय प्रमुख राधाकृष्ण दासले बेल संरक्षणका लागि आर्थिक बर्ष २०७७/७८ मा ६ हेक्टर जङ्गलमा तारवार गरेको र आउँदो वर्ष बेल जुस उत्पादनको लागि मन्त्रालयसँग समन्वय गरिरहेको र अब जाजरकोटको बेल खेर नजाने गरी काम भइरहेको जानकारी दिए । आयुर्वेदिक औषधिका रुपमा समेत बेलको पात, जरा, बोक्रा र फललाई प्रयोग गरिँदै आएको छ ।
बेलपत्र शिवरात्रि, गणेशको पूजनका बेला अनिवार्य चढाउनु पर्ने चलन छ । बेलको महत्वबारे धार्मिक ग्रन्थ ऋग्वेद, शिवपुराण, अग्नि पुराण, स्वस्थानी व्रतकथा लगायतमा वर्णन गरिएको छ । बेलको आयुर्वेदमा उपयोग गरिँदै आएको छ । प्राचीनकालदेखि नै ऋषिमुनिले बेलको प्रयोगलाई विभिन्न रोग निवारणका लागि प्रयोग गरिँदै आएको पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।
बेल औषधिका रुपमा र धार्मिकरुपमा समेत महत्वपूर्ण भएकाले वनमा खेर जाँदै गरेका फललाई प्रयोगमा ल्याउन र नासिँदै गएका क्षेत्रमा रुख जोगाउन अनिवार्य देखिएको हाल अमेरिकामा रहेका प्रदेश आयुर्वेद औषधालयका निवर्तमान अध्यक्ष विनोद ढकालको माग छ ।

