जेठदेखि कर्जाको ब्याजदर थप घट्ने

काठमाडौं । जेठदेखि कर्जाको ब्याजदर घट्ने भएको छ । पछिल्ला महिनाहरुमा बैंकहरुको आधार दर घट्दो क्रममा रहेको र हरेक महिना ब्याजदर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठदेखि ब्याजदर थप घट्ने बैंकरहरु बताउँछन् ।

जेठदेखि नयाँ कर्जाको ब्याजदर करिब १ प्रतिशत विन्दु र पुरानाको करिब ०.५ प्रतिशत विन्दुका दरले घट्ने देखिएको एक बैंकरले बताए । हाल कर्जाको औसत ब्याजदर १३.३ प्रतिशत छ । यही वैशाखदेखि लागू हुने गरी बैंकहरुले बैंकहरुले निक्षेपको ब्याजदर लगभग एक प्रतिशत विन्दुका दरले घटाएका थिए ।

राष्ट्र बैंकको पछिल्लो निर्देशनले अब हरेक महिना बैंकहरुले ब्याजदर परिवर्तन गर्नुपर्ने छ । नयाँ व्यवस्था अनुसार अब बैंकहरुले पछिल्लो तीन महिनाको औसत आधार दरमा आएको परिवर्तनका आधारमा हरेक महिना ब्याजदर घटबढ गर्नुपर्ने छ । जसअनुसार जेठदेखि ऋणको ब्याजदर घट्ने देखिएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । ‘कतिले घट्छ भन्ने टुङगो लागिसकेको छैन तर ऋणको ब्याजदर निश्चित रुपमा घट्छ,’ उनले भने, ‘यसअघि बैंकहरुले निक्षेपको ब्याजदर घटाएकाले आधार दर घट्ने र आधार दरमा आएको कमी अनुसार कर्जाको ब्याजदर पनि घट्ने देखिन्छ ।’

कर्जाको ब्याजदर घटाएपनि बैंकहरुले जेठमा निक्षेपको ब्याजदर भने परिवर्तन नगर्ने संकेत गरेका छन् । यही बैशाखमा निक्षेपको ब्याजदर घटाएको र मुद्रास्फीति पनि बढी नै रहेकाले आउँदो जेठमा ब्याजदर नचलाउने पक्षमा रहेको स्रोतले बताएको छ । ‘जेठमा ब्याजदर परिवर्तन गर्ने/नगर्ने सम्बन्धमा औपचारिक निर्णय भइसकेको छैन,’ स्रोतले भन्यो, ‘तर हाल निक्षेपको दर र मुद्रास्फीतिको अवस्था हेर्दा घटाउनु उपयुक्त देखिँदैन । किनकि बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार ४.२ प्रतिशत स्प्रेड दर पनि कायम गर्नु पर्नेछ ।’

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर दिँदै आएका छन् । गत चैतमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत मुद्दतीमा ९ प्रतिशत दिँदै आएका थिए । ई–कान्तिपुर

Translate »