२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

नक्कली मह बनाएर बेच्ने सात भारतीय नागरिक पक्राउ



बुटवल । अर्गानिक मह भन्दै घर–घरमा बेच्दै हिड्ने तर बुटवलमै घर भाडा लिएर नक्कली मह उत्पादन गर्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली महको कारखाना खोलको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेका छन् ।

प्रहरीले खानतलासी गर्नेक्रममा बुटवल –११ सिर्जना नगरस्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ । सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा वीरबहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह बरामद भएको प्रहरीले जानकारी दिएको हो ।

वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने र बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमुना पठाइएको बताए ।

नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका आधारमा शनिवार राति प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको हो । वडा नं. ११ का वडा सदस्य नकुल शाहीका अनुसार ती भारतीय नागरिकले गलेका मौरीका चाका जम्मा गरी चिनी घोलेर मह बनाउने गर्दैआएका थिए । गोरखापत्र अनलाईन

प्रकाशित मिति : २०८० वैशाख ३१ गते आइतबार
Translate »