नेपाल टेलिकमको ‘नमस्ते वाईफाई’ सेवा


सुर्खेत । कर्णाली जस्तो दुर्गम भूवनावटमा रहेका नागरिकका लागि नेपाल टेलिकमले ‘नमस्ते वाईफाई’ सेवा सुरु गरेको छ । फाइबर इन्टरनेट सेवा नपुगेका ठाउँमा गुणस्तरीय वायरलेस इन्टरनेट सेवा दिने उद्देश्यसहित कम्पनीले सर्व सुलभ सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले फोरजी एलटीई ‘नमस्ते वाईफाई’ मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । फोरजी एलटीई नमस्ते वाईफाईमार्फत टेलिकमले हाल व्यक्तिगत र सरकारी संस्था गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको बताएको छ ।


यो इन्टरनेट जडान गर्न प्रयोगकर्ता रहेको ठाउँमा फोरजी नेटवर्क चल्ने हुनुपर्छ । त्यसपछि इन्टरनेटको तार नजोडेरै वाई–फाई सेवा लिन सकिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी राजन शर्माले जानकारी दिए । ‘फाइबर इन्टरनेट नपुगेको वा फाइबर इन्टरनेट लिन सम्भव नहुने ठाउँलाई लक्षित गरी यस्तो सेवा ल्याइएको हो,’ सूचना अधिकारी शर्माले भने । उनका अनुसार कम्पनीले उपलब्ध गराउने राउटर खरिद गरी ग्राहकले यो इन्टरनेट प्रयोग गर्न सक्नेछन् । राउटरमा सिम राखेपछि त्यसलाई पावरमा जोड्नुप¥यो, जसमा एक घण्टा बढीको ब्याट्री ब्याकअप पनि छ ।
फोरजी इन्टरनेट सपोर्ट गर्ने नेपाल टेलिकमको नमस्ते वाई–फाईमा डुअल ब्यान्ड भएको राउटर पाउन सकिन्छ, जसले गर्दा प्रयोगकर्ताले राम्रै स्पिडको इन्टरनेट कनेक्सन अनुभव गर्न पाउने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय कर्णाली प्रदेश व्यापार शाखा प्रमुख प्रकाशचन्द्र सिग्देलले बताए । उनले नमस्ते वाईफाई सेवा कर्णाली प्रदेशका धेरैजसो ग्रामीण क्षेत्रका नागरिकका लागि मात्र नभई साना अफिस, व्यवसायिक पसल, साना होटल, पत्रकारहरुका लागि अत्यन्त उपयोगी रहेको जानकारी दिए । उनका अनुसार ग्राहकले नजिकको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गरेर वाई–फाई भए/नभएको जानकारी लिन सक्नु हुन्छ । कम्पनीले ‘नमस्ते वाई–फाई’मा अनलिमिटेड डेटा र डेटा विथ भ्वाइस प्याकेजहरु उपलब्ध गराएको उनको भनाइ छ ।


